एनएमबी बैंकको एफपीओ निष्कासन भोलिदेखि, ५७ हजार ७० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । एनएमबी बैंकले भोलीदेखि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्मलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बैंकले आउदो ३ वर्षमा नाफा १५५ प्रतिशत बढाउने भएको छ । बैंकले थप निष्कासन (एफपीओ) ल्याउनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्षको तुलनामा नाफा १५५ प्रतिशत बढाएर ३ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको हो । बैंकले चालु आर्थिक वर्षमा खुदनाफा बढाएर २ अर्ब ३२ करोड ७६ लाख, आगामी आर्थिक वर्षमा ३ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुर्याउने जानकारी दिएको छ । नाफामा बढोत्तरी ल्याउन बैंकले ३ वर्षमा ब्याज आम्दानी बढाएर १४ अर्ब ३८ करोड रुपैयाँ पुर्याउने भएको छ । चालु आवमा ब्याज आम्दानी ९ अर्ब ४९ करोड ४५ लाख, आगामी वर्ष ११ अर्ब ५२ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ । चालु आवमा बढाएर ईपीएस २९ रुपैयाँ १० पैसा र आगामी वर्ष ३८ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान बैंकको छ ।
सुरु भयो ब्याजदर बढाउन बैंकबीच प्रतिस्पर्धा, सिभिल बैंक झनै आक्रमक
काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । एनआईसी एसिया बैंकले मुद्धतिको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलिपल्ट सोमबार सिभिल बैंकले १२.२२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । एनआईसी एसियाले आइतबार मुद्धति निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएपछि सिभिलले पनि सोमबार “चन्द्रसूर्य बचत खाता” योजना ल्याएर ब्याजदर १२.२२ प्रतिशत पुर्याएको हो । सिभिलले आफ्ना ग्राहकलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने सिभिलले जनाएको छ । यो योजनाअन्र्तगत न्यूनतम मौज्दात ३ लाख रुपैयाँ हुनुपर्ने छ । सिभिलले साधारण बचत खाताको ब्याजदर बढाएर १० प्रतिशत दिने जानकारी गराएको छ । बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा ५ लाख रुपैयाँसम्मको दूर्घटना मृत्युर अपाङ्गताको निःशुल्क बीमा सेवा दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा योजना ल्याउने सिभिलका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । एनआईसी एसिया बैंकको आकर्षक मुद्धति योजना, १२ प्रतिशत ब्याज र ८० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशत ब्याज दिने भएको हो । ११ प्रतिशत ब्याज दिदै आएको एनआईसी एसियाले १ प्रतिशत बढाएको हो । एक बर्षको अवधिका लागि खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्मकर्जा सुबिधासमेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । यसअघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वा्धिक उच्चब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रिय भएपछि पुनः कार्यन्वयनमा ल्याएको बैंकले जनाएको छ । निक्षेप बढाउन र भएको निक्षेपलाई जोगाउन ब्याजदर बढाएको एक बैंकरले बताए । आर्थिक वर्ष सकिन लाग्यो निक्षेप बढी देखाउन र भएको वचतलाई जोगाउन यस्तो योजना ल्याएको ती बैकरको भनाई छ । बैंकबीच भएको भद्र सहमति सोमबारदेखि तोडिएको छ । यसअघि बैंकबीच साधारण वचतमा ८ र मुद्धति निक्षेपमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिने सहमति गरेका थिए । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा निक्षेप बढाउन बैंकबीच ब्याजदरको प्रतिस्पर्धा चलेको बताउछन् । राष्ट्र बैंकले पनि ब्याजदर नियन्त्रण गर्ने कुनै नीति नलिएकाले बजारको मागअनुसार ब्याजदरमा घटबढ हुने उनको भनाई छ । “जसले आक्रमक रुपमा बजार विस्तार गर्न चाहेको छ उसले ब्याजदर बढ्यो, यसमा दुःख मान्नुपर्ने कारण छैन” उनले भने । बैंकको आधार ब्याजदर ९ बाट बढेर १०.९४ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत पनि बढेर औसत ६.६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।
सेयर बजार र घरजग्गा कारोबारमा मौद्रिक नीतिको आस, गभर्नरलाई तरलता अभावको त्रास
काठमाडौं । ‘अझै केहि बर्षसम्म तरलता अभावको समस्या टर्ने अवस्था छैन्, निक्षेप वृद्धि र कर्जाको मागलाई हेर्ने हो भने अझै केहि बर्ष तरलता अभावको समस्या टर्दैन्’, पूर्व बैंकर अनलराज भट्टराईले यसो भनिरहँदा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गम्भिर मुद्रामा सुनिरहेका थिए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले मार्जिन लेण्डिङ(सेयर कर्जा)को सिमा ८० प्रतिशतसम्म पुर्याउन माग गरिरहेका थिए । उनले सेयर कर्जाको सिमा बढाउन मात्रै माग गरेनन् साथमा आवास कर्जाको सिमा पनि बढाउन माग गरे । ‘मार्जिन लेण्डिङलाई ८० प्रतिशतसम्म बनाउनु पर्छ र उपत्यका भित्रको रियलस्टेक कर्जालाई ६० प्रतिशतसम्म बढाउनु पर्छ’, तुलाधारले भने । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पनि आवास कर्जा २ करोड पुर्याउनुपर्नेमा जोड दिए । ‘आवास कर्जाको सिमा २ करोड बनाईयोस, त्यो भन्दा कम मूल्यमा घर बन्न छाडिसक्यो ।’, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले भने । मार्जिन लेण्डिङ, अटो लोन र आवास कर्जाको सिमा तोक्ने कुराको विपक्षमा पूर्व बैंकर भट्टराई पनि उभिएका छन् । उनी भन्छन–‘सेयर मार्केटमा ५० प्रतिशत, गाडीमा यति प्रतिशत ऋण देऊ भनेर भन्नु भन्दा जोखिममा आधारित भएर १०० प्रतिशत वा २०० प्रतिशत देऊ तर क्यापिटल वेज राख्नुपर्छ, यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस’, भट्टराईले भने । सबैका कुरा सुनिसकेपछि आफ्ना कुरा राखेका गभर्नर डा.नेपालले भने–‘उत्पादन बढाउन र व्यापार घाटा कम गर्न आगामी मौद्रिक नीति केन्द्रित हुनेछ, यो भन्दा बढि अहिले केहि नबोलौं ।’ यद्यपी उनले पैसा कमाउन मात्रै केन्द्रित नभएर उत्पादन बढाउन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई लगानी केन्द्रित गराउनै पर्ने बाध्यता आएको धारणा राखेका थिए । उता, सेयर बजारका लगानीकर्ताले पनि मार्जिन लेण्डिङको सिमा बढाउन लबिङ गरिदिन धितोपत्र बोर्डलाई आग्रह गरिरहेका छन् । सोमबार बोर्डले आयोजना गरेको कार्यक्रममा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल लगायतले मार्जिन लेण्डिङको सुबिधालाई बढाएर ८० प्रतिशतसम्म पुर्याउन बोर्डले भूमिका खेल्नुपर्ने सुझाव दिए । त्यति मात्रै होइन, अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले समेत अटो लोनको सिमा बढाउन जोडबल गरिरहेका छन् । सेयर बजार, घर जग्गा कारोबार, अटोमोबाइल क्षेत्रका व्यवसायीहरुले कर्जाको सिमा बढ्ने आस गरिरहेका बेला गभर्नर डा. नेपाललाई भने तरलता अभावको त्रासले सताईरहेको छ । निक्षेपको तुलनामा कर्जाको माग बढेको, ब्याजदर अनियन्त्रित बन्दै गएको , उत्पादन मुलक क्षेत्रमा २५ प्रतिशत लगानी गराउन नसकेको जस्ता जोखिमले गभर्नर नेपाललाई सताईरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकले सेयरमा ७२ करोड, घरजग्गामा १३ अर्ब ९३ करोड र सवारीसाधन खरिदमा १६ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि उद्योगको वृद्धिद १२ प्रतिशत, कृषिको ४.५ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ८.५ प्रतिशत हुने बताएका छन् । त्यसका लागि उत्पादनशिल क्षेत्रमै लगानी बढाउनुपर्ने बाध्यतामा गभर्नर डा. नेपाल छन् । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था बैंक तथा वित्तिय संस्थाहरुलाई गर्दै आएको छ । केन्द्रिय बैंकले १० प्रतिशत कृषिमा, ५ प्रतिशत पर्यटन, ५ प्रतिशत उर्जा र ५ प्रशित अन्य उत्पादन मुलक क्षेत्रमा लगानी गर्नै पर्ने व्यवस्था कार्यान्वयनमै राष्ट्र बैंक चुकेको पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले आरोप लगाए ।