जेनजी विद्रोह : डिजिटल चेतनाको ‘एक्जाम फेल’

गत वर्ष यस बेला नेपालमा जेनजी आन्दोलनको आगो चौतर्फी बलिरहेको थियो, म भने हजारौं किलोमिटर टाढा अमेरिकामा थिएँ । भौगोलिक दूरी ठूलो थियो, तर मोबाइलको स्क्रिनले नेपाललाई झन् नजिक ल्याइदिएको थियो।

त्यसबेला मजस्तै विदेशमा रहेका धेरै नेपालीका लागि नेपाल टाढाको आफ्नो प्रिय देशमात्र थिएन, मोबाइलको स्क्रिनभित्र निरन्तर धड्किरहेको एउटा बेचैन संसार थियो । जतिबेला पनि नेपालको खबर हेर्नु, परिवार र साथीहरूलाई फोन गर्नु, सामाजिक सञ्जाल खोल्नु र फेरि अर्को खबरले झस्किनु दैनिकी नै बनेको थियो । 

नेपालमा के भइरहेको छ भन्ने जान्न अनलाइन समाचार र सामाजिक सञ्जाल थिए । तर जति धेरै हेर्यो, उति नै एउटा प्रश्न गहिरिँदै जान्थ्यो, आखिर सत्य के हो त ?

झुट सधैं झुटजस्तो देखिँदैन । कहिलेकाहीँ त्यसमा एउटा वास्तविक भिडियो हुन्छ, एउटा वास्तविक ठाउँ हुन्छ, वास्तविक भीड हुन्छ । केवल त्यसको मिति बदलिएको हुन्छ । क्याप्सन बदलिएको हुन्छ । सन्दर्भ बदलिएको हुन्छ । र हामीले त्यसलाई सत्य ठान्छौं । 

मोबाइलमा आउने विभिन्न माध्यमका दृष्यमा काठमाडौंका सडकमा धुवाँ उडिरहेको थियो । युवाहरू नाराबाजी गरिरहेका थिए । गोली चलेका खबर आइरहेका थिए । सरकारी भवनहरूमा आगो लागेको दृश्य सोसल प्लेटफर्ममा छाइरहेको थियो । अनि विदेशमा बसेर ती दृश्यहरू हेर्दै म कहिले स्तब्ध हुन्थेँ । कहिले आक्रोशित हुन्थेँ । र, कहिले कुन खबर सही हो वा कुन दृष्य गलत हो ? भन्ने अन्योलमा छट्पटिन्थेँ ।

लाग्थ्यो, नेपालमा भैरहेको नाराबाजीभन्दा सोसल प्लेटफर्मका पोस्टहरू चर्का छन् । अश्रुग्यासभन्दा कडा क्याप्सन आउँथे । ढुंगा र आगोभन्दा तीव्र गतिमा फैलिरहेका छन्, फेकन्युज, अफवाह र अपुष्ट दाबी । एक वर्षपछि फर्केर हेर्दा लाग्छ, जेनजी विद्रोह केवल सडकमा भएको राजनीतिक विस्फोट थिएन । 

त्यो नेपाली समाजको डिजिटल चेतनाको पनि एउटा ठूलो परीक्षा थियो । र त्यो परीक्षामा हामीमध्ये हामी अधिकांश पूर्ण रूपमा उत्तीर्ण हुन सकेनौं । यसबाट पाठ सिक्ने लयमा हामी छौं या छैनौं समीक्षा हुँदै गर्ला । 

अफ्ठ्यारोमा टाढा बसेर नेपाल हेर्दाको बेचैनी पहिलो पल्ट अनुभव गरियो । कतिपय समाचार सत्य हुन्थे । कतिपय आधा सत्य । कतिपय पुराना घटनाका भिडियो हुन्थे । कतिपय त बिल्कुलै गलत । तर एउटा कुरा समान थियो, सबै कुरा अत्यन्त विश्वसनीय जस्तो देखिन्थे । फेकन्युजको सबैभन्दा खतरनाक शक्ति रहेछ । 

झुट सधैं झुटजस्तो देखिँदैन । कहिलेकाहीँ त्यसमा एउटा वास्तविक भिडियो हुन्छ, एउटा वास्तविक ठाउँ हुन्छ, वास्तविक भीड हुन्छ । केवल त्यसको मिति बदलिएको हुन्छ । क्याप्सन बदलिएको हुन्छ । सन्दर्भ बदलिएको हुन्छ । र हामीले त्यसलाई सत्य ठान्छौं । 

यस्तै भयो भाद्र विद्रोहको साता । नेपालमा हुँदा घटनास्थल नजिक हुन्छ । छिमेकीले के देख्यो, आफन्तले के भोग्यो, स्थानीय पत्रकारले के भन्यो, धेरै वैकल्पिक स्रोतबाट सही पत्ता लगाउन सकिन्छ । 

विदेशमा त्यस्तो हुँदैन रहेछ । हामीसँग नेपाल हेर्ने मुख्य झ्याल मोबाइल मात्र हुने रहेछ । त्यसमा आएको एउटा भिडियोले सम्पूर्ण नेपालको चित्र बनाइदिँदो रहेछ । एउटा समाचार वा स्टाटसले मथिंगल हल्लाइदिँदो रहेछ । मेरो घरमा त केही भएको छैन ? मेरो परिवार सुरक्षित छ ? भाइ/बहिनी बाहिर त छैनन् ? जस्ता निजी चिन्ता पनि बढ्ने रहेछन् । परिवार, आफन्त र देशका बारेमा यतिविघ्न चिन्ता र चासो जीवनमा पहिलो पल्ट अनुभूति भैरहेको थियो । 

म नेपाल छँदै सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाको व्यापक विरोध भैरहेको थियो । युवामा रहेको असन्तुष्टि विस्फोटक अवस्थामा पुगेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन असन्तुष्टिको प्रमुख उत्प्रेरक भए पनि आन्दोलनको जरा भ्रष्टाचार, नातावाद, बेरोजगारी, अवसरको अभाव र राजनीतिक जवाफदेहिताको प्रश्नमा गहिरोसँग गाडिएको थियो। 

अमेरिकामा रहँदा मैले नेपाललाई केवल समाचारबाट होइन, मानिसहरूको प्रतिक्रियाबाट पनि हेरेँ । सोसल प्लेटफर्मको ऐनाबाट पनि हेरेँ । कोही चिन्तित थिए । कोही आक्रोशित । 

कोही आशावादी । कोही अन्यौलमा । कोही सामाजिक सञ्जालमा आएको हरेक दाबीलाई अन्तिम सत्य ठानिरहेका थिए । त्यो अनुभवले एउटा कुरा सिकायो, नेपालसँग भौगोलिक दूरी बढ्दै जाँदा सूचनामाथिको निर्भरता झन् बढ्दो रहेछ । त्यसैले प्रवासी नेपालीका लागि पनि नेपाल सन्दर्भको डिजिटल साक्षरता आवश्यक लाग्यो ।

सोसल प्लेटफर्महरूले प्रवासी नेपालीलाई नेपालसँग सजिलै र निःशुल्क रूपमा जोडेको छ । यसको गलत प्रयोग हुँदा भने फेकन्युज उत्पादन गर्नेभन्दा त्यसलाई फैलाउने भ्रमको ठूलो कारखाना पनि बन्नसक्ने रहेछ । एउटा व्यक्तिले गलत पोस्ट बनाउँछ । दश जनाले त्यसलाई सेयर गर्छन् । सय जनाले विश्वास गर्छन् । हजार जनाले अर्को समूहमा पठाउँछन् । 

केही घण्टापछि त्यो ‘समाचार’ बन्छ । त्यसैले समस्या केवल फेकन्युज बनाउनेको होइन । समस्या हामी सबैको हो । हामीले सेयर गर्नुअघि एक मिनेट रोकिने हो भने धेरै भ्रम त्यहीँ रोक्न सकिन्छ । स्रोत कहाँ छ ? मूल भिडियो कहाँ छ ? मिति के हो ? अर्को विश्वसनीय माध्यमले पुष्टि गरेको छ ? तस्बिर वा भिडियो पुरानो त होइन ? यी सामान्य प्रश्न हुन् । तर डिजिटल युगमा यी नै नागरिकका सामान्य दायित्वका आधार हुन् ।  

नेपालमा युवा विद्रोहको मोर्चाभन्दा डरलाग्दो गरी ठीकबेठीक छुट्याउनै नसकिने सूचनाको बाढीले मनमा डर, त्रास र चिन्ता बढाइरहेको थियो । अब के होला ? कसरी लिकमा देश आउला भन्ने पीरले चिमोठिरहेको थियो । नेपालमा रात हुँदा अमेरिकामा दिन हुने, दिनभर त्यसै नेपालको ध्यान मात्र आउने नै भो । अनि अमेरिकामा रात हुँदा नेपालमा दिन हुने, अपडेट हुँदै चिन्ताले सुत्न नसकिने भयो । यस्तो अन्यौलले केही दिन इन्तु न चिन्तु बनायो । 

नेपालमा चल्ने गोली र अश्रुग्यासभन्दा डर लाग्दो गरी फेसबुक पोस्ट, टिकटक भिडियो, युट्युब क्लिप, एक्सका पोस्ट र म्यासेन्जरका फर्वार्ड आइरहेका थिए । पुराना र अन्य देशका भिडियो नयाँ घटनाको नाममा भाइरल भैरहेका थिए । साढे दुई दशक पत्रकारितामा बिताएको मजस्तालाई समेत सत्य/असत्य खुट्याउन महाभारत भैरहेको थियो ।

म नेपाल छँदै सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाको व्यापक विरोध भैरहेको थियो । युवामा रहेको असन्तुष्टि विस्फोटक अवस्थामा पुगेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन असन्तुष्टिको प्रमुख उत्प्रेरक भए पनि आन्दोलनको जरा भ्रष्टाचार, नातावाद, बेरोजगारी, अवसरको अभाव र राजनीतिक जवाफदेहिताको प्रश्नमा गहिरोसँग गाडिएको थियो । 

यही बेला भाद्र २३ र २४ गतेका घटनाले देशको राजनीतिक दिशा नै परिवर्तन गरिदिए । सूचना युद्धमा नेपालको परम्परागत शक्ति र सत्ता हार्यो । त्यसयता के–के भए, के हुँदैछ अनि युवाहरूको विद्रोहको उद्देश्य कति पूरा हुँदैछ त्यस विषयमा यस आलेखमा प्रवेश गर्ने उद्देश्य छैन । 

मन जत्ति आत्तिए पनि नेपालबाट हजारौं किलोमिटर टाढा हुँदा प्रत्यक्ष घटनास्थलमा पुग्न सम्भव हुने कुरै भएन । टेलिभिजन च्यानल, अनलाइन समाचार र सामाजिक सञ्जाल नै सूचनाका मुख्य स्रोत बने । 

समस्या त्यहीँबाट सुरु भयो । कुन भिडियो कहिले खिचिएको हो ? कुन फोटो कहाँको हो ? कसले पोस्ट गरेको हो ? भिडियोमा देखिएको दाबी सत्य हो कि सम्पादित सामग्री हो ? कुन अकाउन्ट वास्तविक हो र कुन नक्कली ? कस्को सूचना पत्याउने ? यी प्रश्नको जवाफ नखोजीकन एउटा पोस्ट सेयर गर्ने धेरैको बानीले भ्रमलाई झन् ठूलो बनाइरहेको महसुस भयो । 

जेनजी आन्दोलनका क्रममा गलत सूचनाको गति असाधारण थियो । हामीले नेपालबारे कति कुरा समाचारबाट बुझ्यौं र कति कुरा एल्गोरिदमबाट गम्भीर समीक्षा र अनुसन्धान जरुरी छ । 

तर, फेकन्युजविरुद्ध लड्दा ‘यो फेक हो’ भन्नु मात्र पर्याप्त हुँदैन रहेछ । कसरी फेक हो ? स्रोत के हो ? मूल भिडियो कहाँको हो ? पोस्ट कहिले गरिएको हो ? त्यसको प्रमाण के छ ? यी सबै प्रश्नको जवाफ दिनुपर्छ । नत्र ‘फेकन्युजविरुद्धको दाबी’ पनि अर्को गलत सूचना बन्न सक्छ । 

फेकन्युज सफल हुनका लागि सधैं पूर्ण झूट आवश्यक हुँदैन । आधा सत्य, पुरानो भिडियो, गलत शीर्षक र उत्तेजक क्याप्सन पनि पर्याप्त हुन्छ । विदेशमा बसेका नेपालीका लागि यो समस्या अझ संवेदनशील थियो । नेपालमा परिवार थियो । साथीभाइ थिए । आफन्त थिए । कसैका छोराछोरी आन्दोलनमा थिए । कसैका भाइ काठमाडौंमा थिए । कसैका आमाबुबा कर्फ्यूबीच घरबाहिर थिए । त्यसैले एउटा पोस्ट केवल ‘समाचार’ हुँदैनथ्यो । त्यो व्यक्तिगत चिन्ताको विषय बन्थ्यो ।

मोबाइल खोल्यो कि काठमाडौंमा फेरि गोली चल्यो ! फलानो नेताको घर जलाइयो ! फलानो ठाउँमा यति धेरै मानिस मारिए ! विदेशी शक्तिले आन्दोलन चलाएको प्रमाण भेटियो ! जेनजी आन्दोलनको नेतृत्व अमुक समूहले गरेको पुष्टि भयो ! जस्ता सनसनीपूर्ण सामग्री भटाभट देखिन थाल्थे । लाग्थ्यो, मानिसले समाचार होइन, आफ्नो डर, कुण्ठा र आक्रोश पनि मेसिनले झैं भकाभक सेयर गरिरहेका थिए ।

यसबीच अमेरिकामा रहेका धेरै नेपालीहरूसँग नेपालको सन्दर्भमा कुराकानी गर्दा उनीहरूको भावना बुझ्ने अवसर मिल्यो । फेकन्युजको असर केवल गलत सूचना फैलिनुमा सीमित थिएन । 

यसले विदेशमा रहेका नेपाली समुदायलाई समेत विभाजित गरेको थियो । कोही आन्दोलनलाई पूर्ण रूपमा जनविद्रोह मान्थे । कोही यसलाई राजनीतिक षड्यन्त्र भन्थे । कोही विदेशी हस्तक्षेप देख्थे । कोही राजतन्त्र फर्काउने परियोजना भएको दाबी गर्थे । कोही सबै आलोचनालाई आन्दोलनविरोधी सोच ठान्थे । 

समस्या फरक विचार हुनु थिएन । लोकतन्त्रमा फरक विचार स्वाभाविक हो । समस्या के थियो भने प्रमाणबिना गरिएको दाबी पनि ‘सत्य’ जस्तै प्रस्तुत भैरहेको थियो । 

अझ गम्भीर कुरा, सामाजिक सञ्जालमा आफ्नो समूहको धारणा पुष्टि गर्ने सामग्री मात्र खोज्ने प्रवृत्ति देखियो । आफूले विश्वास गरेको राजनीतिक निष्कर्षसँग मिल्ने पोस्ट आयो भने त्यसलाई स्रोत नहेरी सेयर गर्ने र विरोधी पक्षको पोस्ट आयो भने तुरुन्तै ‘फेक’ भन्ने गरेको पाइयो । यसरी सूचना तथ्यको खोजीभन्दा पहिचान र राजनीतिक निष्ठाको हतियार बन्न पुग्यो । आन्दोलनका क्रममा नक्कली वा अविश्वसनीय अकाउन्टको भूमिकाबारे पनि प्रश्न उठे । 

तर, फेकन्युजविरुद्ध लड्दा ‘यो फेक हो’ भन्नु मात्र पर्याप्त हुँदैन रहेछ । कसरी फेक हो ? स्रोत के हो ? मूल भिडियो कहाँको हो ? पोस्ट कहिले गरिएको हो ? त्यसको प्रमाण के छ ? यी सबै प्रश्नको जवाफ दिनुपर्छ । नत्र ‘फेकन्युजविरुद्धको दाबी’ पनि अर्को गलत सूचना बन्न सक्छ । 

हालैको एउटा तथ्यजाँचले गत वर्षको जेनजी आन्दोलनको भिडियो यसपालीको हिन्दू राष्ट्रसम्बन्धी प्रदर्शनको दृश्य भन्दै पुनः भाइरल बनाइएको देखाएको छ । अनुसन्धानपछि उक्त भिडियो वास्तवमा गतवर्षको भाद्रकै आन्दोलनको भएको पुष्टि गरिएको थियो । यसले फेकन्युजको एउटा विशेषता देखाउँछ, यसको आयु घटनाभन्दा लामो हुन्छ । 

जेनजी विद्रोहको पहिलो वर्षको सबैभन्दा ठूलो पाठ के होला ? एक वर्षपछि जेनजी विद्रोहलाई केवल सरकार परिवर्तन, राजनीतिक पुनर्संरचना वा सडक आन्दोलनका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन जस्तो लाग्छ । यो सूचना युगको आन्दोलन पनि थियो । सोसल प्लेटफर्मले युवालाई संगठित गर्न सक्छ । 

तर त्यही प्लेटफर्मले भ्रम पनि फैलाउन सक्छ । यसले सत्यलाई लाखौं मानिससम्म पुर्याउन सक्छ । तर झुटलाई पनि त्यति नै तीव्र गतिमा फैलाउन सक्छ । विद्रोहको समयमा सडकमा भीडलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र चाहिन्छ । तर डिजिटल युगमा सूचनाको भीडलाई नियन्त्रण गर्न बन्देजभन्दा बढी आवश्यक हुन्छ, मिडिया साक्षरता, तथ्यजाँच, पारदर्शिता र जिम्मेवार नागरिक ।

जेनजी विद्रोहले नेपाली राजनीतिलाई जति ठूलो धक्का दियो, त्यसले नेपाली समाजको सूचना संस्कृतिलाई पनि त्यति नै ठूलो ऐना देखायो । त्यो ऐनामा भ्रष्टाचार, असन्तुष्टि, आक्रोश र परिवर्तनको चाहना मात्र देखिँदैन । अफवाह, उत्तेजना, आधा सत्य र डिजिटल भीडको शक्ति पनि देखिन्छ । एक वर्षपछि सडकको धुलोधुवाँ केही बसेको छ । 

तर सूचनाको धुलो अझै उडिरहेको छ । त्यसैले अब जेनजी विद्रोहको वर्षगाँठसम्म हाम्रो प्रश्न केवल ‘त्यो दिन के भयो ?’ हुनु हुँदैन । प्रश्न यो पनि हुनुपर्छ, ‘त्यो दिनबारे हामीलाई के भनियो, कसले भन्यो, किन भन्यो र हामीले त्यसलाई कति पटक जाँच नगरी अरूलाई सुनायौं ?’ 

तथ्यले के भन्छ भने प्रदर्शनको आसपास सोसल प्लेटफर्म खबर फैलाउने माध्यममा मात्रै सीमित नभएर विचार बनाउने, जनमत प्रभावित पार्ने र सूचनालाई तोडमोड गर्ने रणभूमि नै बनेको देखिएको छ । र, हाम्रो राज्य संयन्त्र यसबारे बेखबर र असफल बनेको प्रष्ट हुन्छ । 

एउटा अध्ययनले हाम्रो आँखा खोल्न मद्दत गर्ने तथ्य आगो निभेको केही महिनामै सार्वजनिक गरिदिएको थियो । इजरायलको साइबर कम्पनी सायाब्राले नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआईमा आधारित सामग्रीबाट फैलिएको निष्कर्ष निकालेको छ । 

सायब्रा रिपोर्ट अनुसार नक्कली एकाउन्टहरूले आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउन ह्यासट्याग प्रयोग गरी वास्तविक प्रयोगकर्तासँग मिसिएर अनलाइन संवाद नियन्त्रण गरेका थिए । प्रतिवेदनले नक्कली प्रोफाइलहरूले कुल अन्तक्र्रियाको ११.५ प्रतिशत हिस्सा ओगटेको भनेको छ । 

नेपालको जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूले भूमिका खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

एआई आधारित ‘सायब्रा’ गलत र भ्रामक सूचना पत्ता लगाउने र अनलाइन जोखिमहरू ट्र्याक गर्ने संस्था हो । जसको प्रयोग धेरै देशका सरकारी निकाय, ब्रान्ड र संस्थाहरूले गरिरहेका छन् । 

प्रतिवेदनमा नक्कली एकाउन्टवालाहरूले वास्तविक प्रयोगकर्ता जस्तै पोस्ट रिट्विट गर्ने, कमेन्ट गर्ने, बहसमा भाग लिने गरेका थिए ताकि छुट्टै नदेखियोस् । यी नक्कली प्रोफाइलले फैलाएको सामग्री ३२ करोड ६० लाख मान्छेको स्क्रिन (पोटेन्सियल रिच) सम्म पुगेको रिपोर्टमा उल्लेख छ । 

प्रतिवेदनले नेपालको जेनजी प्रदर्शन सडकमा जति देखियो, डिजिटल दुनियाँमा त्योभन्दा कम नरहेको देखाएको छ । 

तथ्यले के भन्छ भने प्रदर्शनको आसपास सोसल प्लेटफर्म खबर फैलाउने माध्यममा मात्रै सीमित नभएर विचार बनाउने, जनमत प्रभावित पार्ने र सूचनालाई तोडमोड गर्ने रणभूमि नै बनेको देखिएको छ । र, हाम्रो राज्य संयन्त्र यसबारे बेखबर र असफल बनेको प्रष्ट हुन्छ । 

अमेरिकी भूमिमा छँदा अमेरिकाका प्रतिष्ठित मिडियाहरूमा नेपाल सन्दर्भ विचरण गर्ने मौका जुर्यो । त्यसबेला नेपालको नवयुवा विद्रोहलाई महत्त्वका साथ स्थान दिएका थिए । ‘द न्यूयोर्क टाइम्स’ले यो आन्दोलनलाई नेपालको राजनीतिक संकटको रूपमा चित्रण गरेको थियो । उसले यो घटनालाई सामाजिक सञ्जाल प्रतिबन्धको प्रत्यक्ष परिणाम भन्दै जसले युवाहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको उल्लेख गरेको थियो । 

अमेरिकाकै ‘एसोसिएटेड प्रेस’ले यो आन्दोलनलाई ‘जेन जेडको विरोध’को रूपमा विस्तृतरुपमा कभर गरेको थियो । 

एपीले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धलाई मुख्य ट्रिगर उल्लेख गरेको थियो । ओली सरकारले व्यापक आलोचना र विरोधका बीच पनि फेसबुक, एक्स र युट्युब जस्ता २६ वटा प्लेटफर्महरू बन्द गरिदिएको थियो । यसै जगमा युवाहरू सडकमा आएका थिए । 

अमेरिकाकै अर्को मिडिया ‘ब्लुमबर्ग’ले यसबाट नेपालको पर्यटन र व्यवसायमा असर परेको उल्लेख गर्दै घटनालाई अराजकताको रूपमा चित्रण गरेको थियो ।

Share News