७ वटै प्रदेशकाे बजेट २ खर्ब ६ अर्ब ७७ करोड, बढी १ र कम ४ नम्बर प्रदेश, हेर्नुस कसको कति ?

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७५/०७६ का लागि बजेट सार्वजनिक गरेका छन् ।  प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार ७ वटै प्रदेश सरकारले आगामी आवका लागि बजेट सार्वजनिक गरेका हुन् । ७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ । सबैभन्दा बढी बजेट १ नम्बर प्रदेशको छ । सो प्रदेश सरकारले आगामी आवका लागि ३५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सबैभन्दा कम बजेट प्रदेश नम्बर ४ को छ । सो प्रदेशको बजेट २४ अर्ब २ करोड रुपैयाँ मात्र छ । प्रदेश नम्बर २ को २९ अर्ब ७८ करोड, प्रदेश ३ को ३५ अर्ब ६१ करोड, प्रदेश ५ को २८ अर्ब ९ करोड, प्रदेश ६ को २८ अर्ब २८ करोड र प्रदेश ७ को २४ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो समेत गरी केन्द्र र प्रदेशको ८ सरकारको गरी १५ खर्ब २१ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । ७५३ स्थानीय तहको बजेट भने आउदो १५ गते सार्वजनिक हुदैछ । देश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख छ । प्रदेश २ ले सरकारले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको बजेटमा पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमा १० अर्ब ४८ करोड, ९७ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ७१ करोड ६१ लाख र सशर्त अनुदानबाट ९ अर्ब १८ करोड ११ लाख र विशेष अनुदानबाट १ अर्ब उल्लेख गरिएको छ । यसरी अपुग भएको १ अर्ब आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख गरिएको छ । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ को बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले पूँजीगत खर्चतर्फ २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ १३ अर्ब ४६ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो । ६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहति प्रदेश सरकारले ल्याएको हो । बजेटको स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानवापत ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदानवापत ६ अर्ब ५० करोड १९ लाख र राजस्व बाँडफाँडबाट ६ अर्ब ५७ करोड ६० लाख, समपूरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख प्राप्त हुने प्रदेश सरकारले अपेक्षा राखेको छ । त्यस्तै आन्तरिकराजस्वबाट १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ र आन्तरिक ऋणबाट ८० करोड रुपैयाँ उठाउने उल्लेख गरिएकोछ । प्रदेश ५ सरकारले २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ११ अर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले चालुतर्फ ४०.८० र पूँजीगततर्फ ५९.२ प्रतिशत बजेट विनियोजन गरेको हो । बजेटको स्रोतमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६ अर्ब ८६ करोड ९७ लाख, सशर्त अनुदानबाट ९ अर्ब ६७ करोड ३ लाख र राजस्व बाँडफाँटबाट ८ अर्ब ५५ करोड ३ लाख रुपैयाँ जुटाउने लक्ष्य प्रदेश सरकारले राखेको छ । त्यस्तै प्रदेशको आन्तरिक राजस्वबाट २ अर्ब ४० करोड र २०७४र७५ को बजेटबाट बचत हुने ६० करोड रुपैयाँ पनि आगामी वर्षको बजेटको स्रोतमा उल्लेख गरिएको छ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बजेटमध्ये चालू खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ छुट्याइएको जानकारी दिए । बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५० करोड, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहेको ५० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत प्राप्त हुने छ । यस्तै ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार, वित्तीय समानीकरण अनुदानबाट प्राप्त ९ अर्ब १३ करोड १४ लाख र सशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ परिचालन गरिने बताए। यस्तै समपूरक र विशेष अनुदानबाट ५ अर्ब प्राप्त हुने अनुमान गरिएको उहाँले जानकारी दिए । प्रदेश नं ७ को सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजितमध्ये चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख रुपैयाँ अर्थात ५३.२६ पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ अर्थात ४६.७४ प्रतिशत विनियोजन गरेको जानकारी दिए । अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ४९ करोड ३० लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान र चालु आवको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार, स्थानीय तहबाट राजश्व बाँडफाँड भई प्राप्त हुने ७ अर्ब ५७ करोड १ लाख ६१ हजार, सशर्त अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६ अर्ब ३२ करोड ७८ लाख, संघीय सरकारबाट समपुरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको २ अर्ब र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको २० करोड रहने उनले जानकारी दिए ।

कालिमाटी रत्नपार्क हुँदै बौद्धसम्म शहरी केबलकार, १५ अर्ब लागत

काठमाडौं । कालिमाटी देखि रत्नपार्क हुँदै बौद्धसम्म सञ्चालन हुने शहरी केबलकारको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । फ्रान्स सरकारको आर्थिक सहयोगमा एमडीपी कन्सल्टिङ एण्ड इञ्जिनियरिङ र सिस्ट्राले संयुक्त रुपमा सम्भाव्यता अध्ययन गरेका हुन् । अध्ययनका लागि फ्रान्स सरकारले साढे तीन करोड रुपैंयाँ खर्चको थियो । फ्रान्स नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्याम मोहन श्रेष्ठले ७ किलोमिटर केबलकारको निर्माण लागत १५ अर्ब हुने प्रक्षेपण गरिएको बताए । सो दुरी यात्रा गर्दा सुरुमा ४० रुपैंयाँ भाडा तोक्न सकिने अध्ययनले देखाएको हो । सम्भाव्यता अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई बुझाईसकिएको श्रेष्ठले बताए । बौद्धबाट सुरु हुने केबलकार चावहिल, गौशाला, डिल्लीबजार, रत्नपार्क न्युरोड, बसन्तपुर हुँदै कालिमाटीसम्म पुग्नेछ । केबल कारको गति भने प्रति सेकेण्ड पाँच मिटर हिड्नेछ । बौद्ध, गौशाला, डिल्लीबजार, रत्नपार्क, न्युरोड, बसन्तपुर र कालीमाटीमा स्टेशन राखिनेछ । १५८ वटा डब्बा राखिने केबल कारका प्रत्येक डब्बाले १० देखि १२ जना यात्रु बोक्नेछ । श्रेष्ठले रत्नपार्क हुँदै पुल्चोक, जावलाखेल, लगनखेल र सातदोबाटो जाने अर्काे रुटको पनि सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । त्यस्तै, रत्नपार्कबाट लैनचौर गोंगम्बु हुँदै नयाँ बस पार्कसम्म जाने तेश्रो रुटको पनि पहिचान भएको जानकारी दिए । रत्नपार्कबाट लैनचौर हुँदै लाजिम्पाट, चक्रपथको अर्काे रुट पनि सम्भावित रहेको बताए । पीपीपी मोडल प्रस्ताव सम्भाव्यता अध्ययन सम्पन्न भएसँगै डीपीआर र निर्माण कार्यका लागि पीपीपी मोडल प्रस्ताव गरिएको श्रेष्ठले जानकारी दिए ।‘सरकारले २०/२५ प्रतिशत लगानी गरोस, निजी क्षेत्रले केहि लगानी गर्छ र केहि लगानी एडीबी, जाइका जस्ता दातृ निकायबाट खोज्न सकिन्छ’, श्रेष्ठले भने । निर्माण आरम्भ भएको २ बर्षभित्रै सम्पन्न गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकाको भित्रि सडकमा मेट्रो र मोनो रेल सम्भव नभएकाले केबल कार नै उपयुक्त विकल्पका रुपमा रहेको दावी पनि प्रतिवेदनमा गरिएको छ । भेनेजुयला, ब्राजिल, बोलिभिया, कोलम्बिया लगायतका देशमा शहरी केबल कार सञ्चालन भैरहेको दावी गर्दै उपत्यकाको भित्रि सडकमा केबल कार नै सबै भन्दा राम्रो यातायातको साधन हुन सक्ने प्रतिवेदनमा लेखिएको छ ।

अब स्वास्थ्य चेकजाँच गर्न अस्पताल धाउनै नपर्ने, औँठा छाप लागेपछि ३० रोग पत्ता लाग्ने

काठमाडौं । बिरामी भएर वा आफ्नो स्वास्थ्य अवस्था बुझ्नु परेमा अस्पताल नै नगई आफ्नो घरमा नै रिपोर्ट आउने भएको छ । बिरामीले आफ्नो हातको बुढी औला राखेपछि टेलिमेडिसीयनले तत्कालै विशेषज्ञ डाक्टरमार्फत रिपोर्टका बारेमा जानकारी दिने उपकरण नेपालमा आएको हो । सञ्चालमा ल्याईएको टेलीमेडीसीयन ३ किलो तौलको मात्र छ । यो हातमा नै सजिलैसँग बोकेर हिड्न सकिने खालको छ । आइसीइटीफोरडीका इन्चार्ज पवन शाक्यले डाक्टरहरुको सेवा सीमित स्थानहरुमा मात्र उपलब्ध भएकाले रोग पत्ता लगाउन समस्या आउने गरेकोमा यो उपकरणले सहज बनाएको बताउछन् । घुम्ती स्वास्थ्य सेवा सिमित अवधिको लागि मात्र संचालित भैरहेका छन् । यस्ता चुनौतीबाट पनि यसले छुटकारा दिने शाक्यले बताए । यो उपकारण धेरै मंहगो पनि छैन । यसको मूल्य ६ लाख रुपैयाँ मात्रै हो । यो उपकरण स्वास्थ्य चौकीहरुमा राखेर संचालन गर्न तयारी भैरहेको छ । आइसीइटीफोरडीले हाल दैलेखको दुरामा टेलिमेडीसीयन राखेर धुलिखेल अस्पतालबाट बिरामीको रिपोर्ट केहि समयमा नै दिने प्रक्रियामा छ । यो उपकरणले बिरामीको ३० ओटा रोगहरुको पहिचान गराउने छ । यो उपकरण नेटको सहायताले डाक्टरसँग जोडिन्छ । यो उपकरण विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर नेपालमा भित्रिएको हो । यो उपकरण अमेरिकाबाट खरिद गरेर नेपालमा ल्याएको हो । यसरी प्रयोग हुन्छ टेलिमेडिसीयन टेलिमेडिसीयन उपकरणले झोलामा क्लिनिकको अवधारणा अनुरुप हरेक वडामा रहेका स्वास्थ्यकर्मीहरुद्धारा प्रत्येक वडावासीहरुको नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न सकिन्छ । ज्येष्ठ नागरिक तथा विशेष असक्षम व्यक्तिहरुलाई घरआँगनमा नै गई स्वास्थ्य सेवा दिन सकिन्छ । स्वास्थ्य सम्बन्धि डेटालाई हेरेर सम्भावित रोगहरुको समयमा नै सूचना दिई रोकथामको व्यवस्था गर्न सकिने छ । स्वास्थ्यकर्मीहरुले तत्कालै विरामीको अवस्थाको बारेमा अस्पतालमा रहेका डाक्टरहरुलाई सूचना दिई परामर्श थाल्न सकिन्छ ।