मेलम्ची सहित खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य लिनुपर्ने

काठमाडौं । बहु चर्चित मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य रुपमा लिनु पर्ने भएको छ । ‘नेपालको संविधान २०७२’ को मौलिक हक अन्र्तगत धारा ३५ उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनि व्यवस्था गरिएको छ । सोहि व्यवस्था अनुसार नागरिकले पिउने पानी स्वच्छ रहेको सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्ह अनिर्वाय गर्न भनिएको हो । मंगलबार बसेको संसद विकास समितिको बैठकले खानेपानी मन्त्रालायलाई यस्ताे निर्देशन दिएको हो । अब उपत्यकामा वितरण गरिने भनिएको बहुप्रतिक्षित मेलम्चीको पानीले समेत नेपाल गुणस्तर चिन्ह लिनु पर्ने छ । संसदको बैठकमा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नगरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वार्षिक १ खर्ब बजेट आवश्यक पर्ने तर अहिले ३४ अर्बमा काम गरिरहनु परेको गुनासो पोखेकी थिइन् । खानेपानीले गुणस्तर चिन्ह लिनका लागि आफैं प्रक्रिया सुरु गर्नुपर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । “हामीलाई पानीको गुणस्तर अनुगमन गर्ने अधिकार छैन तर गुणस्तर चिन्न लिन चाहेमा संस्थान तथा कम्पनीले लिन सक्नेछन्, महानिर्देशक पुडासैनीले भने तर हामीले बेला बेला गुणस्तर चेक जाँच गरी सहयोग भने गर्ने गरेका छौं ।”  

तीन वर्षमा १५ अर्ब नाफा गर्ने एनआईसी एशियाको घोषणा, बोनस सेयरबाट पुँजी १० अर्ब ६६ करोड बनाइने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आगामी तीन आर्थिक वर्ष अवधिमा १५ अर्ब रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । यस बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको छ । थोरै नाफा गरेकाले सेयरधनीबाट आलोचना खेपिरहेको यस बैंकले लगानीकर्तालाई भविष्यप्रति आशावादी बनाउने प्रयत्न गरेको छ । बैंकले चालु आर्थिक वर्षमा २ अर्ब ७५ करोड, आगामी आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब १९ करोड र २०७७/७८ मा ७ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ । बैंकले गत वर्ष, चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिने जनाएको छ भने तेस्रो आर्थिक वर्ष २०७७/७८ मा नगद लाभांश मात्र दिने जनाएको छ । बैंकले बोनस सेयर दिएर चुक्ता पुँजी तीन वर्षमा १० अर्ब ६६ करोड पुर्याउने उल्लेख गरेको छ । २०७८ असार मसान्तमा बैंकको जगेडा तथा कोषहरु १२ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने जनाएको गरेको छ । तीन वर्षको अवधिमा निक्षेप ३ खर्ब ५० अर्ब, कर्जा लगानी २ खर्ब ५८ अर्ब, पुँजी बजारमा लगानी ४६ अर्ब पुर्याउने जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा २८ रुपैयाँ हुने, आगामी आर्थिक वर्षमा ४८ रुपैयाँ पुग्ने र तेस्रो वर्षमा प्रति सेयर आम्दानी ६५ रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । बैंकले १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने क्रममा उक्त विवरण सार्वजनिक गरेको हो । ११ प्रतिशत व्याज दिने गरी ७ वर्ष अवधिको लागि बैंकले ऋणपत्र निष्काशन गरेको छ । ऋणपत्र खरिदका लागि भदौ २१ गतेदेखि आवेदन खुला गरिएको छ । आवेदन छिटोमा २५ गते र ढिलामा असोज १९ गते बन्द गरिने बैंकले जनाएको छ । यसको निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्क लिमिटेड रहेकाे छ ।

महालक्ष्मी लाइफको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ । सर्वाेच्च अदालतले असार १४ गतको अन्तरिम आदेशलाई निरन्तरता दिँदै तोकिएको पुँजी र संस्थापक पुर्याई ३० दिन भित्र निवेदन दिन आएमा दर्ता गर्ने प्रक्रिया अघि बढाउन बीमा समितीका नाममा परमादेश जारी गरेको हो । सर्वाेच्चको परमादेशसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी र संस्थापकहरुको अद्यावधिक विवरणसहित बीमा समितिमा पेश गरेको छ । ‘कम्पनीले पुँजी र संस्थापकहरुको विवरण बुझाएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले भने । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा अजेयराज सुमार्गीसहित मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक लगायतको लगानी रहेको छ । महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वाेच्च अदालतमा २०७४ असोज २७ गते रिट दायर गरेका थिए । यस अघि बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्र पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रक्रियाबाट बाहिरिएको थियो । कम्पनीले पूँजी पुर्याउने समय ४५ दिन थपिदिन आग्रह गर्दै बीमा समितिमा निवेदन दिएको थियो तर समितिले समय थप्न अस्विकार गरिदियो । त्यसपछि कम्पनीले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।