काठमाडौं । सर्वाेच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ । सर्वाेच्च अदालतले असार १४ गतको अन्तरिम आदेशलाई निरन्तरता दिँदै तोकिएको पुँजी र संस्थापक पुर्याई ३० दिन भित्र निवेदन दिन आएमा दर्ता गर्ने प्रक्रिया अघि बढाउन बीमा समितीका नाममा परमादेश जारी गरेको हो ।
सर्वाेच्चको परमादेशसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी र संस्थापकहरुको अद्यावधिक विवरणसहित बीमा समितिमा पेश गरेको छ । ‘कम्पनीले पुँजी र संस्थापकहरुको विवरण बुझाएको छ, हामी अध्ययन गरिरहेका छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले भने ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा अजेयराज सुमार्गीसहित मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक लगायतको लगानी रहेको छ । महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले सर्वाेच्च अदालतमा २०७४ असोज २७ गते रिट दायर गरेका थिए ।
यस अघि बीमा समितिले उपलब्ध गराएको समय सिमा भित्र पूँजी पुर्याउन नसकेपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी प्रक्रियाबाट बाहिरिएको थियो । कम्पनीले पूँजी पुर्याउने समय ४५ दिन थपिदिन आग्रह गर्दै बीमा समितिमा निवेदन दिएको थियो तर समितिले समय थप्न अस्विकार गरिदियो । त्यसपछि कम्पनीले सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।