८ अर्ब पुँजी पुर्याउँन अतालिएका सीईओहरु अहिले १६ अर्ब मागिरहेका छन्ः गभर्नर नेपाल

काठमाडाैं । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले अब बैंकको चुक्ता पुँजी १६ अर्ब बनाउनु पर्नेमा जोड दिएका छन् । गभर्नर नेपालले बैंक मर्जर र ८ अर्ब चुक्ता पुँजीबाट बैंकले ठूलो लाभ लिएको बताउँदै चुक्ता पुँजी वृद्धि गर्नु पर्नेमा जोड दिएका हुन् । ८ अर्ब शुरु गर्दा आत्तिएका बैंकका सीर्इअाेहरू अहिले १६ अर्ब चुक्ता पुँजी पुर्याउन पनि तयार रहको नेपालले बताएका हुन् । राजधानीमा आयोजित इकोटल्क कार्यक्रममा बोल्दै नेपालले भने हामीले शुरु गरेको बैंक मर्जर र चुक्ता पँजीले सफलता हात पारेको छ, हिजोको दिनमा असहमति जनाउने बैंकहरुले अहिले ठूलै लाभ लिइरहेका छन्, अब १६ अर्ब पुर्याउन पनि बैंकहरु तयार हुनु सकारात्मक पाटो हो । नेपालले १४२ बैंक मर्जर भएर अहिले २८ वटा सिमित हुनुले जनताको लगानी सुरक्षित हुने बताए । भुटानका बैैंकहरुको ५ अर्ब चुक्ता पुँजी हुदाँ नेपाली बैंकको मात्र २ अर्ब चुक्ता पुँजी थियो । अहिले हामीले ८ अर्ब पुर्याएका छौं । अझै बैंकहरुलाई मर्जर गराएर चुक्ता पुँजीको बृद्धि हुनुपर्ने नेपालले जोड दिए । बैंकले व्यवसायीलाई आर्थिक अनुशासनमा राख्नु स्वभाविक हो । आज तीन पुस्ते विवरण राख्दा त रकम तिर्न नमान्ने व्यवसायीहरुले व्यक्तिको नाम मात्र राख्दा बैंकको लगानी जोखिममा पर्छ । जनताको लगानी सुरक्षित गर्न ऋणीहरुले आर्थिक अनुसासनको पालना गर्नुपर्छ । कृषिमा बैैंकले लगानी गर्न नमान्नु एउटा समस्या हो तर अहिले हामीले देशभरका ७ हजार ४ सय जना कृषकलाई अनुदानको व्यवस्था गरिसकेका छौं । यसका लागि निवेदन पेश गरेर मात्र हुदैंन काम नै गरेर देखाउनु पर्छ । कृषि प्रधान देशमा अर्बाैको तरकारी विदेशबाट ल्याउनु दुखको कुरा हो । नेपालमा उद्योग खोलेर कसैले पनि घाटा खानुपर्ने अवस्था छैन । अन्य देशमा भन्दा नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको छ ।

सरकार र चाइना थ्री गर्जेजबीच वार्ता विफल, ७५० मेगावाटको पश्चिमसेती नबनाउने निश्चित

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले ७५० मेगावाटको पश्चिमसेती आयोजना नबनाउने निश्चित भएको छ । लगानी बोर्ड र अर्थ तथा ऊर्जामन्त्रीसंगको वार्तामा उसले थप शर्त अघि सारेपछि सरकार थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको हो । बोर्ड र थ्री गर्जेजबीचको वार्ता असफल भएको छ । बोर्डसंग वार्ता सफल नभएपछि थ्री गर्जेजका अध्यक्ष जाओ जियाङक्वाङसंग बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र सदस्य जलस्रोत, ऊर्जा तथा सिंचाइमन्त्री वर्षमान पुनसंग पनि मन्त्रालयमा थप छलफल भएको थियो । त्यहाँ पनि सहमतिमा नपुगेपछि वार्ता विफल भएको हो । लगानी बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बोर्ड बैठकमा थ्री गर्जेजले राखेका प्रस्तावलाई लैजाने र त्यसपछि आवश्यक निर्णय गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ ) महाप्रसाद अधिकारीले बताए । थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको उनले जानकारी दिए । यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएर आयोजनाबाट बाहिरिन खोजेको देखिएको छ । पत्रकार सम्मेलनको आयोजना गरी थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको उनले जानकारी दिए । उनीहरुको मागलाई सम्बोधन गर्दा पनि अझै पनि आयोजना संभाव्य नदेखिएको थ्री गर्जेजको भनाई आएको उनले सुनाए । थ्री गर्जेजले राखेका प्रस्ताव आउदो बोर्ड बैठकमा राखेर निर्णय गराउने अधिकारीले बताए । “उसका माग समेटेर बोर्डमा प्रस्ताव लैजाने छौ, बोर्डले जे निर्णय गर्छ त्यही कार्यन्वयन हुने छ” उनले भने । सुदुरपश्चिममा रहेको पश्चिम सेती आयोजना २५ वर्षदेखि अघि बढ्न सकेको छैन् । अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन (स्मेक) ले गरेको संभाव्यता अध्ययनअनुसार आयोजना बनाउन १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने देखाएको थियो । थ्री गर्जेजले पनि ६ वर्षभन्दा बढी समय आयोजना होल्ड गरेको छ ।

लगानी बोर्डले नसकेपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको चिनियाँ कम्पनीसंग पश्चिमसेती आयोजना बनाउने विषयमा वार्ता

काठमाडौं । लगानी बोर्डले मात्र पश्चिमसेती जलविद्युत आयोजनाको समस्या समाधान गर्न नसक्ने अवस्था आएपछि दुई मन्त्री र चिनियाँ कम्पनीबीच छलफल शुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र जलस्रोत, ऊर्जा, सिंचाइमन्त्री वर्षमान पुनले अहिले चाइना थ्री गर्जेज इन्टरनेशनलका अध्यक्षसंग छलफल शुरु गरेका हुन् । मंगलबार र बुधबार बिहानसम्म भएको वार्ता निष्कर्षविहिन भएपछि अर्थमन्त्री र ऊर्जामन्त्रीको अग्रसरतामा अहिले ऊर्जा मन्त्रालयमा छलफल भइरहेको छ । छलफलमा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीको समेत सहभागिता रहेको छ । थ्री गर्जेजले सरकारले तय गरेको ७५० मेगावाटको पश्चिमसेती आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) आकर्षक नभएको, जग्गा अधिग्रहण, प्रसारणलाइन, लगानी ल्याउने विषयमा जटिलता आएपछि मन्त्रीतहबाट सल्टाउने प्रयास थालिएको हो ।