
काठमाडौँ । व्यापक बिरोधपछि पाठ्यक्रम विकास केन्द्रले विज्ञान विषयमा गणितलाई समावेश गर्ने भएको छ । जीव विज्ञान (बायोलोजी) अध्ययन गर्नेले पनि गणित पढ्न पर्ने भएको छ ।
यसअघि केन्द्रले कक्षा ११ र १२ विज्ञान शिक्षाका लागि तयार पारेको पाठ्यक्रमको मस्यौदामा जीव विज्ञान पढ्ने विद्यार्थीले गणित पढ्नु नपर्ने गरी पाठ्यक्रम तयार पारेको थियो ।
मस्यौदा पाठ्यक्रममा रहेको व्यवस्थाले नेपालमा विज्ञान शिक्षाको अध्ययनलाई कमजोर पार्ने भन्दै गणित सामाज, शिक्षक, विद्यार्थी, अभिभावक लगायतले सर्वत्र आलोचना गरेका थिए । तर केन्द्रले अन्तिम रुप दिँदा भने पाठ्यक्रमलाई केही परिमार्जन गरी जीव विज्ञान अध्ययन गर्ने विद्यार्थीले पनि गणितलाई ऐच्छिक विषयका रुपमा पढ्न पाउने व्यवस्था गरिएको छ । नेपाल गणित समाजका अध्यक्ष प्रा.डा टंकनाथ धमलाले पछिल्लो निर्णय सकरात्मक भएको बताए ।
धमलाले विकासन्यूजसँग भने, ‘ पहिलेको विज्ञानको कोर्षमा के कमजोर थियो र त्यसलाई परिवर्तन गर्नु पर्यो ? विज्ञान पढ्ने विद्यार्थीहरुको आर्कषण बढाउँदा मात्रै देश समुन्त र विकास हुँदै जाने हो । जीव विज्ञानका विद्यार्थीले ऐच्छिक रुपमा भएपनि गणित पढ्न पाउनु सकरात्मक हो ।’
केन्द्रले गणितसहित अन्य केही विषयलाई जीवनउपयोगी विषय रुपमा अघि सारेको छ । ‘तर अझै यो पर्याप्त भने छैन । यस विषयमा सरोकारवालाहरुबीच थप छलफल र बहस आवश्यक भएको उनको तर्क छ ।
जीव विज्ञान पढेपनि गणित नपढ्दा विद्यार्थीले उच्च शिक्षामा एमबीबीएस, बनस्पतिशास्त्र, भूगर्भ विषय मात्रै अध्ययन गर्न पाउँथे । इन्जिनियरिङ, वन विज्ञान, अर्थशास्त्र, गणित, व्यवस्थापन लगायतको विषयमा भर्ना पाउनबाट उनीहरु बञ्चित हुन्थे ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले मस्यौदा जारी गर्दा केही विषयमा अस्पष्ट रहेको भन्दै अन्तिम पाठ्यक्रम जारी गरिँदा त्यसलाई स्पष्ट पार्ने काम भएको बताए । पाठ्यक्रमलाई अन्तिम रुप दिइँदा स्पष्ट पार्ने काम गरिएको काप्रीले स्पष्ट पारे ।
यसअघि मस्यौदा पाठ्यक्रममा अनुसार कक्षा ११ मा जीव विज्ञान र गणितलाई एकै समूहमा राखिएको थियो । यस्तो व्यवस्थाले गर्दा जीव विज्ञान पढ्न चाहने विद्यार्थीले गणित पढ्न नपाउने भएका थिए ।