डेब्यूमै ‘म्यान अफ दि इलेक्सन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएर विजेताले प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । महासंघको विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, वस्तुगतमा नरेशलाल श्रेष्ठ र जिल्लानगरमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । निर्वाचन समितिले उपलब्ध गराएको विवरणअनुसार कुल ६९ जना निर्वाचित भएका छन् । एसोसिएटतर्फ १७ जना, जिल्लानगर तर्फ १५ जना, वस्तुगततर्फ १३ जना र प्रत्येक प्रदेशबाट दुई जना गरी १४ जना निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार प्रत्येक क्षेत्रबाट जना महिला सदस्य, वस्तुगत महासंघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, संस्थापन सदस्य समूहबाट एक जना गरी कुल ६९ जना निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार सचिन ढकाल म्यान अफ दि इलेक्सन बनेका छन् । उनी एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा विजयी भएका हुन् । उनले कुल १३ सय १८ मत प्राप्त गरेका छन् । उनले आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । उनी निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । उनी स्पोर्टस् व्यवसायमा आवद्ध छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन् । ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा छ । महासंघको एसोसिटतर्फबाट निर्वाचित सदस्यमा ढकाल सबैभन्दा कान्छा उम्मेदवार पनि हुन् । उद्योगी व्यवसायीहरूको निर्वाचन उनका लागि डेब्यू अर्थात् पहिलो हो । डेब्यूमै उनले उत्कृष्ट नतिजा हात पारेका छन् । उनका बुवा चन्द्रप्रसाद ढकाल महासंघको राजनीतिबाट बाहिरिएसँगै छोरा सचिनको प्रवेश भएको छ । अब सचिनले उद्योग व्यवसायसँगै महासंघभित्रको राजनीतिमा पनि एक खेलाडीका रुपमा उदाउनेछन् । उनीपछि सर्वाधिक मत पाउने उम्मेदवार अम्बिका पौडेल बनेका छन् । उनले ११ सय ८३ मत पाए । कसले कति मत पाए ?
यस्तो बन्यो टिम अञ्जन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बैशाख २२ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित टिमले विजयी प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । उनीसँगै अन्य पदाधिकारीको पनि टुङ्गो लागेको छ । महासंघको एसोसिएट उपाधयक्षमा प्रवलजंग पाण्डे विजयी भएका छन् । उनले १ हजार ७९ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् । प्रवलजंग पाण्डे । एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशिल थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका छन् । एसोसिएटतर्फ प्रबल जंग पाण्डे र ज्योत्सना श्रेष्ठ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । महासंघको निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन् । घिमिरेले ६० मत प्राप्त गरेका थिए । नरेशलाल श्रेष्ठ । वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदका लागि मंगलबार सम्पन्न निर्वाचनमा १३ जना निर्वाचित भएका छन् भने बाँकी ३ जनाबीच गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । निर्वाचन परिणामअनुसार अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका छन् । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी छिन् । यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०–५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट २ जनाले गोलाप्रथाबाट जित्ने छन् । यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । निर्वाचन परिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका हुन् । शर्मा र श्रेष्ठ महासंघको स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूहका उम्मेदवार थिए । कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याए । जिल्ला–नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएक छन् ।
क्रिप्टोमा हुन्थ्यो कारोबार
काठमाडौं । ई-बिडिङ प्रणालीमा अनाधिकृत पहुँच पुर्याएको भन्दै यतिखेर १२ जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । पूर्वमन्त्री विक्रम पाण्डेदेखि अन्य निर्माण व्यवसायीहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–बिडिङ प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोपमा सीआईबीको हिरासतमा छन् । ठेक्काको कबोल रकम परिवर्तन गरेर आफ्नो पक्षमा ठेक्का पार्न उनीहरूमाथि गैह्रकानुनी काम गरेको आरोप छ । सीआईबीले गत बुधबार साँझ मात्रै निर्माण व्यवसायी ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गर्यो । बुढानीलकण्ठ नगरपालिका–९ मन्डिखाटारबाट उनी पक्राउ परेका थिए । टेन्डर प्रक्रिया नै ह्याक गरेर अर्बौंको ठेक्का हत्याउने निर्माण व्यवासायीहरुको माथिको अनुसन्धान प्रक्रिया सीआईबीले अन्तिम चरणमा पुर्याएको छ । संगठित अपराध कसुरमा आरोपीमाथिको अनुसन्धान प्रतिवेदन ६० दिनमा अदालत दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । केही दिनमा ब्यूरोले जिल्ला सरकारी वकिल कार्यालयमा अभियोजन पत्र पेस गर्ने तयारी गरिरहेको छ । ३३ वर्षीय दिवाकर देउजा पनि सीआईबीको हिरासतमा छन् । ई–बिडिङ् प्रणाली ह्याक गर्नेमा उनको मूख्य भूमिका रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । ह्याकर देउजामाथि सार्वजनिक खरिद प्रणालीभित्र प्रवेश गरेर ‘फेक सिस्टम’ बनाएको आरोप छ । उनले उक्त प्रणालीमा प्रवेश गरेर विभिन्न ठेक्का कम्पनीलाई जानकारी दिने गरेको अनुसन्धानबाट खुलेको छ । सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘एक कम्पनीले यति रकममा हालेको छ । उसलाई भेट गरेर रकम बार्गेनिङ गर्ने वा मिलेर अगाडि बढ्न सुझाउने गरेका थिए ।’ देउजाले ह्याक गरेको सिस्टमभित्र प्रवेश गर्ने गरेका थिए । व्यवसायीहरूले उनलाई पाँचदेखि १० लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ। क्रिप्टोमा कारोबार ह्याकर र ठेकेदारहरुले क्रिप्टोमा कारोबार गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको ती अधिकृतले बताए । उनले क्रिप्टो कारोबारीमार्फत पैसा असुल्ने गरेका थिए । कति रकम बराबरको क्रिप्टो दिन्थे भनेर अझै अनुसन्धानमा रहेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार ठेक्काको अन्तिम समयमा उनले अन्य कम्पनीको रकम अदलबदल गरिदिने गरेका थिए । ‘समय सकिएपछि पनि ठेकेदार कम्पनीलाई सम्पर्क गरेर कम्पनीको आवश्यक डकुमेन्ट अपलोड गर्थे,’ उनले भने ‘अरू कम्पनीको रकम हेर्दै कम रकममा हालेर ठेक्का हात पारिदिन उनी सक्रिय थिए ।’ उनले कुनै-कुनै योजनामा कसैले ठेक्का नहाल्दा पनि ठेकेदारलाई जानकारी दिने गर्थे । विकास योजनामा एकल ठेक्का पार्न पनि उनले ठेकेदारलाई सहयोग गर्ने गरेका थिए । ‘कतिपय अवस्थामा बढाएर पनि बोल कबोल गरिदिन्थे,’ प्रवक्ता श्रेष्ठले भने । बिक्रम पाण्डेले कालिका कन्स्ट्रक्सन मार्फत बकैया ब्रिज एक्सेस रोडमा ठेक्का पारेका थिए । अन्य कुन–कुन आयोजना ठेकेदार सक्रिय थिए भन्ने विषय अनुसन्धानकै क्रममा छ । पक्राउ परेका सबैलाई सीआईबीले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।