राष्ट्र बैंकले बनायो लघुवित्तका समस्याबारे अध्ययन गर्न उच्चस्तरीय समिति
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । नेपालमा लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान स्थिती र अर्थतन्त्रमा पुर्याएको योगदान सहित समग्र क्षेत्रबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । कार्यकारी निर्देशक श्रेष्ठको संयोजकत्वमा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष, २ जना स्वतन्त्र विज्ञ र ४ जना राष्ट्र बैंकका उच्च अधिकारीहरु सदस्य छन् । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले लघुवित्त संस्थाको समग्र क्षेत्रको अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिले ६ महिनाभित्र प्रतिवेदन पेस गर्न समय दिएको छ । लघुवित्त क्षेत्रमा देखिएका विद्यमान समस्या, नीतिगत व्यवस्थामा रहेका समस्या र मध्यम तथा दीर्घकालीन समस्या समाधानका विषयमा अध्ययन गरेर राष्ट्र बैंकलाई बुझाइनेछ ।
नयाँ परिपत्र अनुसार लाभांश प्रस्ताव गर्न लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई फागुन १० गतेको परिपत्र अनुसार मात्र लाभांश प्रस्ताव गर्न निर्देशन दिएको छ । राष्ट्र बैंक लघुवित्त संस्था सुपरीक्षण विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले सबै लघुवित्तहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् । राष्ट्र बैंकले फागुन १० गते निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतभन्दा बढी (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने उल्लेख गरेको थियो ।
नेफ्स्कुनका सीईओ भन्छन् : सञ्चालकले लिएको ऋण उठाउन सकस हुन्छ
काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशप्रसाद पोखरेलले सहकारी संस्थाहरुबाट सञ्चालकले लिएको सावाँ ब्याज नै असुल गर्न सकस हुने बताएका छन् । आइतबार नेफ्स्कुनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सीईओ पोखरेलले अन्य ऋणी सदस्यहरुको तुलनामा सञ्चालकहरुबाट ऋण असुल गर्न सकस पर्ने बताएका हुन् । ‘सहकारीहरुमा सञ्चालकले कर्जा लिने अभ्यास पनि बढेको देखिन्छ, अन्य सदस्यहरुको तुलनामा सञ्चालकहरुबाट ऋण असुल गर्न समस्या भएको हामीले बुझेका छौं, यसलाई गलत सन्देशका रुपमा नबुझ्नु होला,’ उनले भने । उनले सहकारीमा सञ्चालक र उप–समितिले लिएको ऋण बढी भाखा नाघेको पनि बताए । त्यस्तो खालको ऋण उठाउन समस्या हुने उनको भनाइ छ । यस्तै, उनले सहकारीलाई अनुशासनमा राख्न कडाभन्दा कडा अनुगमन आवश्यक रहेको उनले बताए । उनले सहकारी संस्थाहरुको नियामक पनि कडा हुनु पर्ने धारणा राखे । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ । नेफ्स्कूनको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा हुँदैछ ।