मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४० लाख इकाइ सेयर जारी गर्न लागेको हो ।

कम्पनीको सञ्चालक समितिको ३३९औँ बैठकले ८.७५ प्रतिशत लाभांश दर कायम भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । उक्त सेयर संस्थागत लगानीकर्तालाई मात्र निजी तवरबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अग्राधिकार सेयर जारी गर्न आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित हुनुपर्नेछ । साथै, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भएपछि मात्रै सेयर जारी गरिनेछ ।

यस सेयरमा ८.७५ प्रतिशत लाभांश दर तोकिए पनि मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गरिने व्यवस्था छ । कम्पनीले कुनै पनि सुरक्षण नराखी अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

मञ्जुश्री फाइनान्सले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ । 

Share News