आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्र बोर्डबाट पायो स्वीकृति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि पुर्व स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई मर्जरको लागि पुर्व स्वीकृति दिएको हो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ (४) बमोजिम अन्तिम स्वीकृति दिएको हो । दुई कम्पनीबीच सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।
मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य
काठमाडौं । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो । नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक कारोबारका लागि योग्य देखिएका छन् । त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन् । सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो । यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन् । मार्जिन कारोबारलाई व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गरेको छ । सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्रै यस्तो सुविधा पाउँछन् । पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनीहरूमा मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सकिनेलगायतका व्यवस्था निर्देशनले तोकेको छ । रासस
४५ लघुवित्तको लाभांश घोषणा : एउटाको रद्द, ३ वटाले घटाए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये ४५ वटा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । ६० वटा लघुवित्त संस्थाहरु सूचीकृत रहेकोमा ४५ वटा लघुवित्त संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् १५ वटा लघुवित्तले अझै लाभांश घोषणा गरेका छैनन् । जसमा जाल्पा सामुदायिक लघुवित्त, उपकार लघुवित्त, सिवाईसी लघुवित्त र आदर्श लघुवित्त संस्थाले भने यस वर्षदेखि लाभांश घोषणा गरेका हुन् । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा जाल्पा सामुदायिक लघुवित्त संस्था रहेको छ । यस लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद गरी कूल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, दोस्रोमा उपकार लघुवित्त (६५ प्रतिशत), तेस्रोमा महिला लघुवित्त (५० प्रतिशत), चौंथोमा नेशनल माइक्रोफाइनान्स लघुवित्त (३४.४५ प्रतिशत) र पाँचौंमा जीवन विकास लघुवित्त (३३.१५ प्रतिशत) रहेकाे छ । यस्तै, सिवाईसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले समान ३१.५८ प्रतिशत र फरवार्ड लघुवित्तले ३० प्रतिशत लाभांश वितरण गरिसकका छन् । नेरुडे लघुवित्तले २३.१५ प्रतिशत, मिर्मिरे लघुवित्तले २३ प्रतिशत, स्वाबलम्बन लघुवित्त २१.०५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत, मिथिला लघुवित्त १५.७८ प्रतिशत, आरएसडीसी लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गरिसकेकाे छन् । आरएमडीसी लघुवित्त र साना किसान लघुवित्तले २७.३६ प्रतिशत, छिमेक लघुवित्तको २५.२६ प्रतिशत, महुली लघुवित्तले २५ प्रतिशत, स्वरोजगार लघुवित्तले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, स्वाभिमान लघुवित्त, विजय लघुवित्त, र आदर्श लघुवित्तले २१.०५ प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्त, साधना लघुवित्त, निर्धन उत्थान लघुवित्त, इन्फिनीटी लघुवित्त, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, लक्ष्मी लघुवित्त र कालिका लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यस्तै, सबैको लघुवित्तले १८.९५ प्रतिशत, समता लघुवित्तले १८ प्रतिशत, मिथिला लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तले १५.७८ प्रतिशत, आशा लघुवित्त र सूर्याेदय वोमी लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्नेछन् । एनआईसी एशिया लघुवित्तले भने १४.७५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, समीट लघुवित्तले १४.२७ प्रतिशत, सिभिल लघुवित्तले ११.५८ प्रतिशत, सपोर्ट लघुवित्तले ११.५७ प्रतिशत, एनएमबि लघुवित्तले १०.५२ प्रतिशत, किसान लघुवित्तले ७.३६ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तले ५ प्रतिशत र गुराँस लघुवित्तले ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गरेका लघुवित्तहरुमा नेसनल माइक्रोफाइनान्स लघुवित्त र आशा लघुवित्तको लाभांश भने संशोधन भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशन बमोजिम संशोधन गरेको हो । यस्तै, आशा लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले लघुवित्तको लाभांश घटाएर स्वीकृति दिएको हो । यस्तै, जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यस्तै, नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्काे वित्तीय संस्थासँग मर्जरमा नगएसम्मका लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको हो । लघुवित्तले गत आवको नाफाबाट लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।