नम्बर वानको ताज कायमै राख्छौं, सेयरधनी र बीमितलाई सन्तुष्ट बनाउँछौं : अध्यक्ष श्रेष्ठ
निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्ज भई एक बनेका छन् । दुई कम्पनीले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट औपचारिक रुपमा एकीकृत कारोबार पनि सुरु गरिसकेका छन् । नयाँ बनेको कम्पनीको नेतृत्व प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सम्हाल्ने भएका छन् । यो अवधिमा मर्जरको भोगाइ, मर्जर गर्दाका चुनौति र मर्जर भएर नयाँ बनेको कम्पनीको योजनाहरुको विषयमा विकासन्युजका लागि सीआर भण्डारी र मञ्जरी पौडेलले कम्पनीका अध्यक्ष श्रेष्ठसँग गरेको कुराकानी । दुई कम्पनी एक हुँदाको अनुभुति कस्तो हुने रहेछ ? यो एउटा ऐतिहासिक क्षण हो । हुन त हामी मर्जरमा तेश्रो भएका छौं । हामीभन्दा अघि दुई कम्पनी मर्ज भइसकेका छन् । यो स्केलमा दुई वटा कम्पनी मिल्दा नेपालको ठूलो कम्पनी बन्ने हिसावले मर्जर भएको यो पहिलो कम्पनी हो । मर्जर भनेको दुई वटा कम्पनी विवाह गर्ने सरह नै हो । किनभने दुई कम्पनी छुट्टाछुट्टै वातावरणमा, छुट्टै संस्कृतिमा हुर्किएका । २०/२५ वर्ष आफ्नै हिसावले काम गरिसकेका कम्पनी । एउटामा ३/४ सय जना कर्मचारी र अर्कोमा ३/४ सय जना कर्मचारी । आफ्नो आफ्नो पोलिसी अन्तर्गत काम गरेर आएका र दुई वटै सक्षम र दुई वटै सफल कम्पनीहरु थिए । मर्जर भनेको एक एक जोडेर दुई होइन एघार भन्छौं । यहि एघारलाई एउटा लक्ष्य बनाएर कम्पनीलाई अगाडि बढाउन चाहान्छौं । दुई कम्पनी एक हुनु सामान्य विषय होइन,सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर कसरी सम्भव बनाउनु भयो ? कुनै पनि मर्जरको क्रममा विभिन्न विषयहरु आउन सक्छन् । नआउने होइन । जस्तै इगो । मेरो कम्पनी पुरानो, मलाई बढी चाहिन्छ । यो क्षेत्रमा मेरो राम्रो प्रफरमेन्स छ, मलाई यो बढी चाहिन्छ भन्ने विषयहरुले मर्जरलाई लम्ब्याएको हुन्छ । अलि जटिलताहरु उत्पन्न हुने गर्छन् । धेरै ठाउँमा आएका पनि थिए । तर हाम्रो केशमा फरक रह्यो । दुबै सफल र एउटै लेभलको कम्पनी भएकोले हिसाव मिलानमा हामीलाई गाह्रो भएन । जस्तै, स्वाप रेसियो तय गर्ने, डीडीए गर्ने लगायतका विषयमा कुनै पनि कठिनाई भएन । ५/१० प्रतिशतका यी काम सजिलै गर्यौं । अब जटिलता आउन सक्ने भनेको कर्मचारी समायोजनको विषय । को कसले कुन पोजिसनमा बसेर काम गर्ने ? भन्ने विषयमा । अब सीईओ को हुने ? अध्यक्ष को हुने ? भन्ने विषय योग्यताको आधारमा हो । हामी लिनेभन्दा पनि दिनेमा बढी फोकस हुनु पर्ने रहेछ । मलाई यो चाहिन्छ उसलाई पनि यो चाहिन्छ भन्ने भयो काम अघि बढ्दैन । यसमा छोड्न सक्नुपर्छ । के को लागि छोड्ने ? कम्पनीको लागि । यही फिलोसोपिमा काम अघि बढाउँदा काम एकदमै सजिलै भयो । दुबै कम्पनीका पदाधिकारी, सञ्चालकहरु एकदमै बुझ्ने हुनुहुन्थ्यो । एक अर्काको सबल पक्ष र कमी कमजोरीहरु बुझेको । र, सबल पक्षलाई निरन्तरता दिँदै कमी कमजोरीलाई हटाउँदै जाने भन्नेमा सबैको बुझाई मिलेको हुनाले यो मर्जरलाई सफल बनाउन हामीलाई कुनै पनि किसिमको गाह्रो भएन । फरक-फरक कम्पनीको अध्यक्ष र सीईओ बन्नु भएको छ, यो अवस्थामा भोलिका दिनमा समन्वय गरेर अघि बढ्न कत्तिको सहज या असहज हुन्छ ? असहज हुने स्थिति मैले देखेको छैन । किनभने मर्जरकै क्रममा धेरैपटक हाम्रो मिटिङ अर्थात छलफल भइसकेका छन् । धेरै विषयमा सहकार्य भइसकेको छ । कुनै पनि विषयमा कुनै पनि समस्या, बाधा अड्चनहरु आउँदा सजिलै समाधान भयो । कारण एउटै थियो दुबैको बुझाई एउटै । त्यसैले हामीले कुनै पनि असहजताको स्थिति झेल्नु परेन । र, अब आउने दिनमा पनि यहि अनुसार नै अघि बढ्न सक्यौं भने दुई कल्चरको विवाहलाई सजिलै अघि बढाउन सक्छौं जस्तो लाग्छ । भिडियो : हाम्रो भिजन ‘नम्बर वान’ बन्ने नै हो : अध्यक्ष श्रेष्ठ पोष्ट मर्जर म्यानेजमेन्टको काम कति बाँकी छन् ? आजको दिनमा दुई कम्पनी मर्जर भयो र एकीकृत कारोबार शुरु भयो । यो भनेको ५/१० प्रतिशत मात्रै काम सकियो । बाँकी ९० प्रतिशत कामहरु अझै बाँकी नै छन् । शाखा कार्यालयको काम अगाडि बढीसकेको छ । हाम्रो दुबै कम्पनीको शाखा कार्यालय जोड्दा करिब १५०/१६० पुग्थ्यो । केही शाखाहरु दुप्लिकेट थिए, तिनलाई मर्ज गरेका छौं । र, अहिले १२३ वटा पुगेका छौं । कुनै दुईटा शाखालाई जोडेर एउटै बनाउने । कुनै पहिला चलिरहेको पुरानो शाखालाई नै निरन्तर सञ्चालन गर्ने । शाखा कार्यालयको एउटा मापदण्ड हुन्छ । कुन कति वर्ष पुरानो काम गरेको ? कुन कस्तो पोजिसनमा फीट हुन्छ ? त्यसको मूल्यांकन गरी उचित मापदण्ड बनाएर कुन व्यक्तिलाई कस्तो जिम्मेवारी दिएर अघि बढ्ने हो ? त्यसमा हाम्रो तयारी भइरहेको छ । जस्तै, दुई वटा शाखामा दुई जना म्यानेजर हुन्छन् । शाखा एउटा बनाउँदा दुबैलाई म्यानेजर राखेर भएन । यो अवस्थामा को म्यानेजरको रुपमा निरन्तर काम गर्ने ? र को उसको अन्तर्गत काम गर्ने ? भन्ने विषयमा उनीहरुको आफ्नो आफ्नो प्रफमेन्स, क्षमता र योग्यताको आधारमा समायोजन गरेका छौं । यो कर्पोरेट कार्यालय र शाखाहरु दुबैमा लागू हुन्छ । मर्जरपछि सम्बन्धित कम्पनीका कर्मचारीहरुबाट खाईपाई आएको सेवा सुविधा घट्यो भन्ने गुनासोहरु आइरहेका छन् । यसमा सिद्धार्थ प्रिमियरले कसरी व्यवस्थापन गर्दैछ ? सिद्धार्थ प्रिमियमरले यसमा कुनै कमी हुन दिँदैन । खाईपाई आएकोमा जो जसले जति सेवा सुविधा लिइरहेको हुन्छ, त्यसमा केही पनि कमी हुँदैन । सबैलाई समान हैसियतमा लगिन्छ । कर्मचारीहरु कसैको पनि सेवा सुविधा घट्दैन । आगामी पाँच वर्षमा सिद्धार्थ प्रिमियरलाई कुन स्थानमा देख्न सक्छौं ? पाँच वर्षमा हाम्रो भिजन नम्बर वान बन्ने नै हो । अहिलेलाई दुईटा हिसाव मिलाएर नम्बर वान पुग्यो । तर नम्बर वानमा स्थीर भई राख्नु भनेको अर्को चुनौति हो । यो नम्बर वानमा बस्नको लागि के के गर्नुपर्छ ? कस्ता कस्ता श्रोतहरुको परिचालन गर्नुपर्छ ? वित्तीय श्रोत, प्राविधिक श्रोत, मानव श्रोत साधानहरु, बजारीकरण लगायतका विषयमा हाम्रो फोकस छ । अब एक वर्षसम्म यी विषयमा फोकस भइन्छ । यो स्टाब्लिस भइसकेपछि यसकै आधारमा हामी अगाडि बढ्छौं । हुन त नेपाल बीमा प्राधिकरणले दुई तीन वर्षमा पुँजीको आवश्यकतालाई परिवर्तन गर्दै आइरहेको छ । पुँजीको आवश्यकतालाई मात्रै थपेर बिजनेस सस्टेन हुन नसक्ने अवस्था आउँछ । त्यसैले पनि मर्जर एउटा म्यान्डेटोरी बन्न आयो । अब बीमा प्राधिकरणले नयाँ नयाँ नीति नियमहरु ल्याउँदै गर्छ, त्यो अनुसार हामीले काम गर्नुपर्छ । आजको दिनसम्म हामी पुँजीसँगै विभिन्न शीर्षकमा नम्बर वान छौं । अब हाम्रो लक्ष्य यहि नम्बर वानलाई निरन्तरता दिने हो । बीचमा उतारचढाव होला । तर पनि नम्बर वान नै भएर बस्न हामी पुरै कन्फिडेन्ट छौं । सिद्धार्थ र प्रिमियरले दिँदै आएको लाभांश र मर्जरपछि बनेको कम्पनीले दिने लाभांशमा कत्तिको वृद्धि होला ? हाम्रो उद्देश्य भनेको कुनै पनि बिजनेस गर्दा ग्राहकलाई अधिकतम सन्तुष्टि दिने हो । ग्राहकको सन्तुष्टिबाटै बिजनेस बढ्ने हो । बिजनेस बढेपछि नाफा बढ्ने हो । तर बीमामा त्यति सजिलो छैन । बिजनेस मात्रै बढाएर पनि हुँदैन । जस्तै : क्वालिटी बिजनेस भनेको के हो ? नेपालमा क्वालिटी बिजनेस नभएको कारणले फ्रडुलेन्स क्लेम बढी भइरहेको छ । यसले बीमा क्षेत्रलाई नै गाह्रो पारिरहेको छ । तर नाफा भएपछि त सेयरधनीलाई अधिकतम लाभांश दिन सक्छौं । विगतका इतिहासलाई हेर्ने हो भने सिद्धार्थ र प्रिमियर दुबै कम्पनी सञ्चालन भएको अवस्थामा दुईवटै ‘वान अफ द बेष्ट’ कम्पनी थिए । अब दुईवटा कम्पनीको श्रोतहरु मिल्दा त्योभन्दा बढी हुन्छ । कम हुँदैन भन्ने हाम्रो विश्वास छ । सेयरधनी भन्नाले सर्वसाधारण सेयरधनी मात्रै होइनन् । हामी (संस्थापक) ले पनि आफ्नै रगत पसिनाले बिजनेस चलाइरहेका हौं । हामीलाई नाफा नहुँदा जति दुख्छ, सर्वसाधारण सेयरधनीलाई पनि त्यति नै दुख्छ । उहाँहरुलाई दुखेको हामीलाई पनि दुख्छ । हामीले आफ्नो सेयरहरु बजारमा बेच्न पनि नहुने । लक गरेर राखिएको छ । संस्थापक सेयरधनीले एकपटक लगानी गरिसकेपछि सेयर बेच्न पनि नपाउने, नगद लाभांश पनि लिन नपाउने भन्ने नीति बीमा प्राधिकरणको छ । यसले गर्दा संस्थापक सेयरधनीले आफ्नो लगानीको उचित प्रतिफल पाइरहेका छैनन् । जुन सर्वसाधारण सेयरधनीले नगदसहितको लाभांश पाइरहेका छन् । यसले उनीहरुलाई फाइदा नै भइरहेको देखिन्छ । बीमा प्राधिकरणको बारम्बार एउटै गुनासो छ की बीमा कम्पनीहरु शहर केन्द्रित मात्रै छन् । गाउँ केन्द्रित छैनन् । यसमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको भूमिका के रहन्छ ? साच्चै भन्ने हो भने हाम्रो फोकस नै त्यहि छ । १२३ वटा शाखा कार्यालय छन् । नेपालका ७ वटै प्रदेशमा छन् । हामी ठाउँठाउँ गाउँगाउँमा गएर विभिन्न प्रविधि मार्फत काम गर्दै जाने । शाखाहरु खोल्दै जाने । निम्न वर्गका ग्राहकहरुलाई सेवा दिने । १२३ भनेको थोरै शाखा होइनन् । हरेक वर्ष अधिकतम १० वटा शाखा खोल्दै जाने । काठमाडौं भित्र पनि थप शाखा खोल्छौं । त्यसैले हाम्रो ब्रान्च नेटवर्ट म्यासिभ नै हुन्छ । दुई कम्पनी नै अग्रणी हुन् भन्नु भयो । अग्रणी हुँदा हुँदै पनि आफै पुँजी बढाउन तपाईं असक्षम हुनु भएको हो ? असक्षम भन्दा पनि यसको भायविलिटी हेर्नुपर्यो । कुनै पनि लगानी गर्दा यसको भायविलिटी हेर्नुपर्छ । जति बजारमा प्रतिस्पर्धा हुन्छ, त्यत्ति अनुशासन हुँदैन । अस्वस्थ प्रतिस्पर्धा हुन्छ । यसले कुनै पनि कम्पनीलाई राम्रो फाइदा भइरहेको छैन । अहिले हामी आफ्नो प्रगति अनुसार टप टु/थ्री कम्पनीमा बस्न सक्षम त भयौं । तर बजार बिग्रिँदै गएकोे हिसाबले टप टु/थ्री मा बस्न कठिनाई भइसक्यो । त्यसैले मर्जर हुनु अपरिहार्य नै थियो । किनभने एउटा कम्पनीले ३०० करोडको व्यापार गरिरहेको छ भने ३०० करोडबाट ६०० करोड पुर्याउन पुँजी थपेर मात्रै हुँदैन । दुई कम्पनी मिलेर गरेको जति बिजनेस गर्न सकिँदैन । जबकी एउटै लेभलको पुँजी वा बिजनेस भएको कम्पनी मिल्दा क्षमतावान कर्मचारी तुरुन्तै हुन्छ । तुरुन्तै बजारमा स्थापित भइसकेका शाखाहरु हुन्छन् । पुँजी थपेर जाँदा एउटा एउटा शाखा बढाउनु निकै कठिन हुन्छ । नयाँ मान्छे लिनु पर्यो । नयाँ ठाउँ लिनु पर्यो । नयाँ पहिचान बनाउनु पर्यो । त्यसैले नयाँ सञ्चालन गर्नुभन्दा भइराखेको श्रोतलाई क्यापिटलाइज्ड गर्नु नै धेरै सजिलो हुन्छ । त्यसैले हामीले मर्जरलाई नै प्राथमिकता दियौं । मर्जरमा जाँदै गरेका अन्य कम्पनीलाई कस्तो सुझाव दिनुहुन्छ ? मर्जर एक पटक गर्ने भनिसकेपछि ‘ए’ पाटी ‘बी’ पाटी भन्ने हुँदैन । ‘ए’ प्लस बी नै भएर अगाडि जानु पर्छ । ‘ए’ को यति ‘बी’ को यति भनेर जानु हुँदैन । ‘ए’ को मान्छे यहाँ ‘बी’ को मान्छे त्यहाँ भन्ने सोच बनाउँनु हुँदैन । ‘एबी’ भनेको ‘ए’ प्लस ‘बी’ बराबर वाई भनेर जानुपर्छ । मर्जरलाई छिटो छरितो गर्ने, आफ्ना कर्मचारीलाई राम्रो इम्प्रेसन दिने हो भने राम्रो पक्षलाई संगाल्दै जाने र नराम्रोलाई हटाउँदै जानु पर्छ । यो एउटा ठूलो चुनौतिसँगै एउटा अवसर पनि हो । यो अवसरलाई ध्यानपूर्वक अघि बढाउनु पर्छ । र, सानातिना विषयमा नअल्झि यता गए नि ठिकै छ, उता गए नि ठिकै छ भन्ने सोच बनाएर अघि बढियो भने यो मर्जरको प्रकृया छिट्टै सकिन्छ ।
नेपाल इन्स्योरेन्सको बोनस खातामा, दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा शुल्क लाग्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्न सुरु गरेको छ । इन्स्योरेन्स कम्पनीको गत पुस २२ गते सम्पन्न ७४ औं वार्षिक साधारण सभाले पारित गरेको ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो । इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । बोनस जारी गर्दा हुन आउने दशमलब पछिको अंकलाई १ सेयरमा परिणत गर्दा लाग्ने शुल्क सेयरधनीहरु स्वयंले नै भुक्तानी गर्नुपर्ने कपनीले बताएको छ । उक्त शुल्क बैंक खातामा जम्मा गरेपछि मात्र हितग्राही खातामा सेयर जम्मा गरिने कम्पनीले जनाएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
बीमा दावी भुक्तानी बाहेक तिर्नुपर्ने रकम छैन : राष्ट्रिय बीमा कम्पनी
काठमाडौं । राष्ट्रि बीमा कम्पनीले हालसम्म परेका दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक तिर्नुपर्ने बाँकी रकम नरहेको बताएको छ । कम्पनीले कारोबारको क्रममा रहेका बीमा दावी बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको बताएको हो । साथै कम्पनीले यदि कुनै व्यक्ति तथा संघसस्थाको गत असार मसान्तसम्मको रकम भुक्तानी हुन बाँकी रहेको छ भने ३५ दिनभित्र जानकारी गराउन भनेको छ । ‘कम्पनीले आफ्नो कारोबारको क्रममा बीमा दावी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता राखेको छैन, कुनै व्यक्ति, संघ, संस्थाको बीमा दावी बाहेक कुनै रकम भुक्तानी गर्न बाँकी भए सम्कर्प गर्नुहोला,’ कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ । २०७९ असार मसान्तसम्मको बाँकी रहेको रकम ३५ दिन भित्र के कति र के बापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सोको सक्कलै प्रमाण कागजात सहित केन्द्रीय कार्यालय काठमाडौंमा भुक्तानी माग गर्न आउन कम्पनीले आग्रह गरेको हो । तोकिएको म्यादभित्र भुक्तानीको लागि नआए, रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा समेत यस्तो माग दावी उपर कुनै कारवाही नहुने कम्पनीले बताएको छ ।