राष्ट्रिय बीमा कम्पनीले डाक्यो ३१ औं र प्रथम वार्षिक साधारण सभा, के-के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)ले आफ्नो ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनीको प्रथम बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ३१ ग्ते बिहान ११ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो । कम्पनीको सभाले राष्ट्रिय बीमा कम्पनी (साविको राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६८/६९, आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७०/७१, आर्थिक वर्ष २०७१/७२ र आर्थिक वर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा र नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ । साथै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्नेछ । कम्पनीको सभाले सञ्चालकहरुको आर्थिक वर्ष २०७२/७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन गरी सोलाई निरन्तरता गर्ने र सर्वसाधारण सेयरधनीहरुमध्येबाट एक जना सञ्चालक चयनको लागि निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनको लागि जेठ १६ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १५ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् ।

आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले सेवा बन्द हुने भएको हो । दुवै कम्पनीबची मर्जर प्रक्रिया सम्पन्न भई बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने छन् । एकीकृत कारोवार गर्ने प्रयोजनार्थ दुबै संस्थाको तथ्यांक एकीकरण गर्नुपर्ने भएकाले कम्पनीको विधुतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते २ बजेदेखि बन्द रहने छ । साथै, बैशाख २७ गते विहान कार्यालय समयदेखि पुनः सेवा सुचारु हुने कम्पनीले जनाएको छ । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् । संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् । सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् । सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए । बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।