कृषि विकास बैंकले निक्षेपको ४ गुणासम्म दुर्घटना बीमा गर्ने

काठमाडौं । कृषि विकास बैंकले निक्षेपकर्तालाई बीमा सुविधा प्रदान गर्ने भएको छ । बैंकले निक्षेप खातामा रहेको रकमको ४ गुणासम्मको दुर्घटना बीमा गर्ने भएको हो । बैंकको निक्षेप व्यवस्थापन विभागका अनुसार निक्षेपकर्ताहरुको लाख रुपैयाँ वा खातामा रहको रकमको ४ गुणासम्म रकमको दुर्घटना क्षतिपुर्ति बीमा र स्थायी अंगभंग क्षतिपुर्ती बीमा गर्नेछ । सो बीमा लेख जारी गर्न इच्छुक बीमा कम्पनीले बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ । बैंकका अनुसार सम्बन्धित बीमा कम्पनीको २०७९ चैत्र मसान्तको वित्तीय विवरण, सम्वन्धित बीमालेख लगायत आवश्यक कागजात जेठ १० गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । एक कम्पनी वा एक भन्दा वढी कम्पनीको बीमा प्रस्ताव स्विकृत तथा अस्वीकृत गर्ने अधिकार बैंकमा निहित रहने जनाएको छ ।

१० प्रतिशत क्रस होल्डिङ्ग भएका भुक्तानी प्रदायक संस्थालाई मर्जरका लागि बाध्य गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दोहोरो लगानी (क्रस होल्डिङ्ग) भएका भुक्तानी प्रदायक संस्थालाई मर्जरका लागि निर्देशन दिन सक्ने भएको छ । भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ सार्वजनिक गर्दै कुनै संस्थाका सञ्चालकहरूको अर्को संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको अवस्थामा बाध्यात्मक मर्जरका लागि निर्देशन दिन सक्ने भएको हो । ‘भुक्तानी सम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त कुनै संस्थाका सञ्चालकहरूको अर्को संस्थामा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको अवस्थामा त्यस्ता संस्थाहरूलाई बाध्यात्मक रुपमा एक आपसमा गाभ्न÷गाभिन वा प्राप्ति गर्न निर्देशन दिन सक्नेछ,’ राष्ट्र बैंकले भनेको छ । यस्तै, सैद्धान्तिक सहमति प्राप्त गरी तोकिएको मितिमा अन्तिम स्वीकृतिका लागि निवेदन पेश नगर्ने वा अन्तिम स्विकृति प्राप्त गरेपश्चात तोकिएको मितिमा एकीकृत कारोबार नगर्ने संस्थालाई भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ बमोजिम कारबाही गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रदायक कम्पनी पनि मर्जरमा जाने गरी विनियमावली २०७७ को पहिलो संशोधन गरेको हो । [pdf id=410332]

बाँकेमा सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा गरिने

जानकी । बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पुर्याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताइन् । उनले आर्थिक वर्ष २०८०र८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ बीमा नगरपालिकाले गर्ने बताएका हुन् ।  ‘उपचारका क्रममा सम्पत्ति सकिने अवस्था अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ’, उपप्रमुख सुवेदीले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिका संवेदनशील भएको हुनाले स्वास्थ बीमा गरिदिन लागिएको हो ।’ सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि एक लाख रुपैयाँ पाउँदै आएका छन् । जनस्वास्थ्यमा समस्याका रुपमा रहेको र उपचारका लागि उक्त रकम पर्याप्त नभएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ’, उनले भने । डा पाण्डेले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए । राज्यले दिने एक लाख रुपैयाँ सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन् । सिकलसेल तथा थालेसेमियाजस्ता रोगबाट ग्रसित रोगी सबैलाई स्वास्थ बीमामा समेट्नु पर्नेमा डा पाण्डेको सुझाव थियो । कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी वाहक फेला परेका छन् । त्यसैगरी, एक सय ५० जना थालेसेमियाका वाहक फेला परेको वडा नं १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । रासस