ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

काठमाडाैं । ज्योति क्यापिटलकाे अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका श्री कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

गुराँस लघुवित्तको सीइओमा विष्णु प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई सीइओमा नियुक्त गरेको हो । सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाबानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यअनुभव हासिल गरेका छन् । व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको लघुवित्त ले जनाएको छ । धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं। ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर, मोरङ्गमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

सिद्धार्थ बैंकले ११.७५ प्रतिशतमै घर कर्जा दिने

काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका छन् । साथै, नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा कडाई गरेपछि कारोबार सुस्ताएको उनीहरुको तर्क छ । मन्दीकै बीच बैंकहरुले फागुन मसान्तसम्म २ खर्ब रुपैयाँभन्दा बढी घर कर्जा प्रवाह गरेका छन् । तरलता क्रमशः सहज हुने अपेक्षासहित बैंकहरु घरकर्जा प्रवाह गर्ने योजनाहरु सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जालाई उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ब्याजदरका कर्जा योजना अगाडि सारेका छन् । केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जाप्रवाह गर्दा १५ प्रतिशतसम्म ब्याज लिइरहेका थिए । तर, सिद्धार्थ बैंकले भने आधार दर सरह नै ब्याजमा घर कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले ‘सिद्धार्थ हाम्रो घर कर्जा’ नामक योजना मार्फत ११.७५ प्रतिशतमै कर्जा प्रवाह गरिरहेको बताएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । आवासीय घर किन्न, भइरहेको घरमा तला थप्न वा रिनोभेट गर्न, हाल भइरहेको जग्गामा घर बनाउन, अपार्टमेन्ट किन्नका लागि बैंकले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिने भएको छ । बैंकहरुले हाल कर्जामा अधिकतम १५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । तथ्याङ्क अनुसार अधिकांश बैंकहरुको घरकर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि रहेको छ । तर, सिद्धार्थ बैंकले भने ११.७५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ । बैंकका अनुसार सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनुरुप फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल ब्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । यस्तो कर्जामा ८४ महिनासम्म बैंकलाई बुझाउनु पर्ने किस्ता रकम समान हुनेछ । फ्लोटिङ रेटमा भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुन सक्नेछ । यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिने बैंकले जनाएको छ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिने बैंकले जनाएको छ । बैंकहरुले धितोको आधारमा कर्जा प्रवाह गर्छन् । सिद्धार्थ बैंकले बजार मूल्यका आधारमा धितोको मूल्याङ्कन गरी कर्जा उपलब्ध गराउनेछ । कर्जा सुरक्षणका रुपमा राखिएको धितोको मुल्याङकनकोे ६० प्रतिशत सम्म कर्जा उपलब्ध गराइने बैंकले बताएको छ । यदि कुनै ग्राहकले १ करोडको धितो बैंकमा राख्यो भने ६० लाख रुपैयाँ कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । बैंकले १८ वर्ष पूरा भएका र कर्जा अवधि पूरा हुँदा ८० वर्ष ननाघ्ने गरी सबैलाई कर्जा दिनेछ । निश्चित ब्याजदर योजना अन्र्तगत कर्जा लिने ग्राहकले ७ वर्षपछि परिवर्तित ब्याजदरमा किस्ता भुक्तानी गर्न सक्नेछन् । बैंकले कर्जा प्रवाह गर्दा सेवा शुल्क भनेर कर्जा रकमको ०.७५ प्रतिशत लिन्छ । त्यसका अतिरिक्त कर्जा सूचना केन्द्रले २५० देखि ५०० रुपैयाँसम्म शुल्क लिन्छ । धितो मूल्याङ्कन गर्ने इन्जिनियरिङ कन्सलटेन्सी, कर्जा तथा सम्पत्तिको बीमा शुल्क, सरकारको नियम अनुसार लाग्ने मालपोत कार्यालयको शुल्क अलग्गै लाग्छ । के के डकुमेन्ट चाहिन्छ ? ग्राहकले उपलब्ध गराएको कागजपत्रहरुको आधारमा बैंकले कर्जा स्वीकृत गर्नेछ । यदि सबै प्रक्रिया पुर्याएको छ भने बैंकले कर्जा स्वीकृत गर्ने बताएको छ । कर्जा प्राप्त गर्न ग्राहकको बैंकले उपलब्ध गराउने आवेदन फारम भर्नुपर्नेछ । साथै, ग्राहकको नागरिकता, पासपोर्ट साइज फोटो, नाता जनाउने वा सम्बन्धन प्रमाणपत्रहरु, आम्दानीको स्रोतका कागजातहरू (बैंक स्टेटमेन्ट र कर क्लियरेन्स) उपलब्ध गर्नुपर्नेछ । साथै, धितो सुरक्षणका लागि कम्तिमा ८ फिट चौडाको सडक, जग्गाको तिरो तिरेका रसिद, सम्बन्धीत निकायबाट स्वीकृत भवनको नक्साको प्रमाणपत्र रहेको लालपुरर्जा उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । साथै, कर्जा लिन आएका जमानीकर्ताको रुपमा ब्यक्तिगत जमानीकर्ताका साक्षि पनि हुनु पर्नेछ । सिद्धार्थ बैंकको यस ‘सिद्धार्थ हाम्रो घर कर्जा’ को विस्तृत विवरण बैंकको वेबसाइट वा नजिकैको शाखाकार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्राहकहरुले यस कर्जा लिन यस पेजमा https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan भएको “I am interested”भएको बटन क्लीक गरीे फर्म भर्न सक्नुहुनेछ ।