मर्जपछि बनेको सानिमा रिलायन्स लाइफको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम भएको सेयर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर लगानीकर्ताले अब आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने छन् । सो दिन पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता ३९१.८८ रुपैयाँ तोकेको छ ।
बीमा कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले अतिथि सत्कारमा खुद बीमाशुल्कको डेढ प्रतिशतसम्म खर्च गर्नुपर्ने भएको छ । कम्पनीहरुले व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शीर्षकमा खुद बीमाशुल्कको एक दशमलब पाँच प्रतिशतसम्म खर्च गर्न पाउने भएका हुन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको संस्थागत सुशासन सम्बन्धी (पाँचौं संशोधन) निर्देशिका, २०८० अन्तर्गत उक्त व्यवस्था गरेको हो । जुन तत्काल लागू हुने छ । ‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमाशुल्कको बढीमा एक दशमलव पाँच (१.५) प्रतिशतसम्म खर्च गर्न सक्नेछ,’ निर्देशिकामा भनिएको छ । त्यस्तै, उक्त व्यवस्था बमोजिम बीमकले गरेको कुल खर्चको कम्तीमा २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शीर्षकमा खर्च गर्नुपर्ने बताइएको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको न्यूरोडस्थित कास्की मोडेल हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । सम्झौता पश्चात बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले हस्पिटलमा विभिन्न सेवा सुविधाहरुमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।