युनिक नेपाल लघुवित्तले जेठ ११ गतेदेखि एफपीओ बिक्री गर्ने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले जेठ ११ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय अंकित मूल्य दरका ३ लाख ७९ हजार ४२५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । साविकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको संस्थाको कुल चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँको ९४.०१ प्रतिशले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५ सय रुपैयाँ र ५.९९ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रकम बराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम बिक्री खुला गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
दुईवटा बैंकको पासवर्ड ह्याक गरेर पैसा चोरी, एक व्यक्ति पक्राउ
विराटनगर । मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् । सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार निकालेको उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसनमा उपकरण किन्दा छुट
काठमाडाैं । कुमारी बैंक र क्वालिटी सोलुसन प्रा. लि. बीच सम्झाैता भएकाे छ । बैंक र साेलुसनबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । सम्झाैता अनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्ड वाहकहरुले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत सेवाका दिँदै आएकाे छ ।