लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्रभु लाइफले बोलायो विशेष सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले जेठ २६ गते लैनचौर ब्याङ्क्वेटमा बिहान ११ बजे विशेष साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१५८ प्रतिशत नगद गरी कूल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्ने । मर्जरपश्चात् प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्नेछन् । दुवै कम्पनी सेयर स्वाप रेसियो १:१ अनुपातमा एक आपसमा मर्ज हुनेछन् । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जेठ ११ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

सन नेपालले गर्यो १४ लाखको वैदेशिक रोजगार बीमाको मृत्युदावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १४ लाखको मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीले धनगढी कलालीमा आयोजीत एक कार्यक्रममा बीमितका श्रीमती गिता पन्तलाई उक्त रकम भुक्तानी गरेको हो । बीमित स्व जमनसिंह ठगुन्नाको फागुन १३ गते दुबईमा मृत्यु भएका थियो । उनले कम्पनीको वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको थिए । कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीले ठगुन्नालाई किरीया खर्च, बीमाङ्क रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी सो रकम बराबरको चेक हस्तातरण गरेका थिए ।

सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक सेल्स एण्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।