हिमालयन लाइफको सीईओ बने कर्ण, प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा कर्ण नियुक्त भएका हुन् । बीमा प्राधिकरणले कर्णलाई कम्पनीको सीईओ बन्न शुक्रबार स्वीकृति दिएको हो । नवनियुक्त सीईओ कर्णले पनि आफू एक कार्यकालको लागि हिमालयन लाइफको सीईओ पदमा नियुक्त भएको बताएका छन् । प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्जरपश्चात बनेको हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कर्णलाई सीईओमा नियुक्त गरेको थियो । कम्पनीको सीईओमा नियुक्ति भएपछि स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको थियो । सोही बमोजिम प्राधिकरणले शुक्रबार कर्णलाई सीईओ बन्न स्वीकृति दिएको हो ।

गरिमा विकास बैंकले सार्वजनिक गर्यो वित्तीय साक्षरता सम्बन्धी भिडियो

काठमाडौं । गरिमा विकास बैंकले वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक गरेको छ । उक्त बैंकले आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गएको जनाएको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ । बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ संचालक समिति गठन भएकाे छ । बैंककाे बिहीबार बसेकाे पन्ध्रौ वार्षिक साधारणसभाले नयाँ संचालक समिति गठन गरेकाे हाे । सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचित भएका छन् । जसमा संस्थापक सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा र प्रिया तायल निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ ।