ग्राहकको मोबाइलबाट नै पैसा चोरिएको हो, हाम्रो सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो । ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ । ‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड  तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’  बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ । बैंकले ग्राहकहरुको खातामा रहेको पैसा सुरक्षित रहेको बताउँदै डिजिटल बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

नेष्डोलाई तत्काल राष्ट्र बैंकको आदेश लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थालाई तत्कालको लागि राष्ट्र बैंकले दिएको लाभांश कार्यान्वयन नगराउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अर्को आदेश नभएसम्म वैशाख ४ गते राष्ट्र बैंकले दिएको लाभांश कार्यान्वयन नगराउनु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीका नाममा कारण देखाउ आदेशसमेत दिएको छ । गत वैशाख ५ गते लघुवित्तले आफूले प्रस्ताव गरेको लाभांश कटौती गरेपछि राष्ट्र बैंकविरुद्ध रिट हालेको थियो । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/७९का लागि चुक्तापुँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३.६८४२ गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी राष्ट्र बैंकमा पेस गरेको थियो । तर, राष्ट्र बैंकले फागुन १० गतेको परिपत्रअनुसार लाभांश बाँड्न भन्दै नेष्डो समृद्धको लाभांशमा संशोधन गरेर कुल १७.९३ प्रतिशतमात्र बाँड्ने निर्देशन दिएको थियो ।

आइजीआई प्रुडेन्सियलका नवनियुक्त सीईओ श्रेष्ठले लिए शपथ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज पछि बनेको सञ्चालक समितिको बैठकले नयाँ कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने सिफारिस गरेको थियो । जुन सिफारिसलाई नेपाल बीमा प्राधिकरण लेजेठ ५ गते स्वीकृति दियो । त्यसपछि जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकमा उनले नयाँ नयाँ कम्पनीको सीईओको रुपमा शपथ लिए । नवनियुक्त सीईओ श्रेष्ठ करिब तीन दशकदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा साविकको आईएमई जनरल इन्स्योरेन्सले प्रिमियम लगायत विभिन्न शीर्षकमा फड्को मारेको थियो । श्रेष्ठ साविकको आईएमई जनरल इन्स्योरेन्सका सीईओ समेत हुन् । तत्कालिन एनबी इन्स्योरेन्स समस्याग्रस्त हुँदा आइएमई समूहले उक्त इन्स्योरेन्सको सेयर किनेको थियो । त्यतिबेला श्रेष्ठ कम्पनीको कायम मुकायम सीईओको रुपमा इन्स्योरेन्समा आवद्ध भएका थिए ।