लक्ष्मीभन्दा सनराइज बैंक अब्बल, स्वाप रेसियो फरक आएपनि समान हैसियतमा मर्जर
काठमाडौं । मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकबीचको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टमा २ प्रतिशत फरक आएको छ । डीडीए रिपोर्ट अनुसार लक्ष्मी बैंकभन्दा सनराइज बैंक २ प्रतिशत बलियो देखिएको हो । स्रोतका अनुसार डीडीए रिपोर्टमा लक्ष्मी बैंकको ९८ प्रतिशत आउँदा सनराइज बैंकको १ सय प्रतिशत स्वाप रेसियो आएको छ । डीडीए रिपोर्टमा फरक आएपनि लक्ष्मी र सनराइज बैंक सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने छन् । ‘डीडीए रिपोर्टमा लक्ष्मीको ९८ प्रतिशत र सनराइज बैंकको १ सय प्रतिशत आयो, सनराइज बैंकको सम्पत्ति धेरै छ, सम्पत्तिको भ्यालूसन गर्दा सनराइज बलियो देखियो तर, लक्ष्मीको पूँजी भने बढी छ,’ स्रोतले भन्यो । डीडीए रपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख थियो । तर, २ प्रतिशतको मात्रै फरक आएको हुँदा १ः१ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । दुवै बैंकका सञ्चालकबीच सोमबार मर्जरमा जान अन्तिम सम्झौता हुँदै छ । मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको थियो । लक्ष्मी बैंकले यसअघि अध्यक्ष र सीईओ दावी गर्दै आएको भएपनि डीडीए रिपोर्टमा २ प्रतिशत बढी आएपछि सनराइज बैंकले अध्यक्ष दाबी गरिरहेको स्रोतको भनाइ छ । ‘अन्तिम सम्झौतामा दुवै बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपात हुने छ, लक्ष्मी बैंकले सीईओ पाउने छ तर, अध्यक्ष पदका लागि भने अहिले सहमति भएको छैन, नयाँ सञ्चालक समितिले अध्यक्ष नियुक्त गर्ने निर्णय गर्ने छ,’ स्रोतले भन्यो । लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । यसअघि लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको थियो । सोही अनुसार मात्रै लक्ष्मी बैंकले मर्जर सम्झौता गरेको थियो । तर, अहिले स्वाप रेसियोमा सनराइज बैंक लक्ष्मी भन्दा अब्बल देखिएपछि अध्यक्ष पद दाबी गरेको स्रोतले बतायो । स्रोतका अनुसार बैंकका कर्मचारी व्यवस्थापनको र शाखा कार्यालय मर्जरको काम पनि भइरहेको छ । कर्मचारीलाई भिआरएस स्किम ल्याउने उनले बताए । तथापि, कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् ।
जीवन बीमा गर्नेले दावी वापत पाए साढे ४७ अर्ब बढी रकम, सबैभन्दा बढी नेपाल लाइफको
काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै साढे ४७ अर्ब बढी दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा बीमितहरुलाई कूल ४७ अर्ब ६३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका हुन् । जनु अघिल्लोे आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२७ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को चैतसम्ममा बीमितलाई ४३ अर्ब ९९ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका थिए । कम्पनीहरुले सार्वजनिक गरेका तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा १५ वटा कम्पनीले सो मत्राको दावी भुक्तानी गरेका हुन् । जसमध्ये सबैभन्दा बढी रकमको दावी भुक्तानी गर्नेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले आफ्ना बीमितलाई १० अर्ब ९५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । जुन गत वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो । त्यस्तै, प्रतिशतको आधारमा प्रभु लाइफ इन्स्योरेन्स सबैभन्दा बढी एग्रेशिभ देखिएको छ । गत वर्षको तुलनामा प्रभु लाइफले २५३.६५ प्रतिशत बढी दावी भुक्तानी दिएको छ । गत आवमा ३० करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा मात्रै एक अर्ब ७ करोड रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ । प्रभु लाइफपछि सन नेपाल लाइफ बढी आक्रामक देखिएको छ । गत आवमा ३३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले चालु आवको ९ महिनामा ८२ करोड रुपैयाँ भुक्तानी गरेको छ । जुन प्रतिशतको आधारमा १४८.४९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा नेपाल लाइफसहित १२ वटा कम्पनीले एक अर्ब बढी भुक्तानी गरेका छन् । जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ र मेटलाइफको दावी भुक्तानी भने गत वर्षको तुलनामा घटेको छ । यी तीन कम्पनीले क्रमशः १.६५ प्रतिशत, ४४.३४ प्रतिशत र ३०.२२ प्रतिशतले दावी भुक्तानी घटाएका छन् । लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ५५ करोड, नेशनल लाइफले ५ अर्ब ६५ करोड, एशियनले ५ अर्ब १२ करोड, हिमालयनले ४ अर्ब २८ करोड, राष्ट्रिय बीमा संस्थानले ३ अर्ब २३ करोड, आइएमई लाइफले २ अर्ब ६१ करोड, मेटलाइफले २ अर्ब १७ करोड, सूर्यज्योतिले १ अर्ब ४३ करोड, सिटिजनले १ अर्ब ३३ करोड, सानिमा रिलायन्सले १ अर्ब ३१ करोड र प्रभु लाइफले एक अर्ब ७ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् । करोडभन्दा कम रकमको भुक्तानी गर्नेको सूचीमा रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । बीमा दाबी भुक्तानी वर्षको प्रभाव यो तथ्यांकले कम्पनीहरुले दावी भुक्तानीलाई बढी प्राथमिकता दिँदै आएको देखिन्छ । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले दावी भुक्तानीमा कडाई गर्दै आएसँगै कम्पनीहरुले समयमै दावी भुक्तानी गर्न थालेका जानकारहरु बताउँछन् । त्यस्तै, प्राधिकरणले बीमाको विश्वसनीयता गुम्न नदिन चालु आवलाई बीमा दाबी भुक्तानी वर्षको रुपमा मनाइरहेको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई क्लेमलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आएका छन् । त्यसको प्रभाव पनि कम्पनीहरुले तिर्ने दावी भुक्तानीमा परेको देखिन्छ । त्यस्तै, सिलवालले बीमा दाबी भुक्तानी प्रदेश तथा शाखा कार्यालयबाटै दिने व्यवस्था मिलाउन समेत बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘आरोगिन हेल्थ केयर’ मा ४५ प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘आरोगिन हेल्थ केयर’ मा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकलाई थप सेवा दिन विशालनगरमा स्थित हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले हेल्थ केयरमा विभिन्न सेवा सुविधामा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ । साथै, बैंकले बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।