सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार संचालन गरेको कम्पनीको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन् । उक्त कम्पनीको जेठ ४ गते पन्ध्रौं वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको थियो । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका हुन् । साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियूक्त भएका हुन् । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका जेठ ४ गते अपरान्ह बसेको ३४९ औंं बैठकबाट केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई जेष्ठ १० गतेका दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उक्त सपथ ग्रहणका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको समेत उपस्थिती रहेको थियो ।
मानुषी लघुवित्तले बोलायो साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ १० गते बसेको बैठकले जेठ ३२ गते भक्तपुरमा बिहान साढे १० बजे बोलाएको हो । लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सदस्यको नियुत्ति एवम् अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, कुनै लघुवित्तसँग मर्जमा जान सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको २.२७ लाख कित्ता सेयर सर्वसाधारणमा परिमार्जन
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो । कम्पनीको संस्थापक समूहको २ लाख २७ हजार ७५०.५० कित्ता सेयर सर्वसाधारण समूहमा परिमार्जन भएको जनाएको छ । यससँगै कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ । यसअघि कम्पनीमा संस्थापक समूहको ५२.३२ प्रतिशत र सर्वसाधारण समूहको ४६.६८ प्रतिशत सेयर स्वामित्व रहेको थियो ।