समीट लघुवित्तले लाभांश, मर्जर र एफपीओ प्रस्ताव पारित गर्न डाक्यो सभा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८÷७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको अधिकृत पूँजी ७० करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १८ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बीमा प्राधिकरणले तोक्यो अन्तर्राष्ट्रिय सम्मेलनको दर्ता शुल्क, नेपालीलाई १५ हजार, विदेशीलाई कति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छ । प्राधिकरणले काठमाडौंको याक एण्ड यति होटलमा ‘एशियन इन्स्योरेन्स मीट-बिल्डिङ रिसाईलियन्स अफ इन्स्योरेन्स टुवार्डस् इमर्जिङ रिस्क’ विषयमा तीन दिने सम्मेलन गर्न लागेको हो । तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा लगायत वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीहरू, नेपालका बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरू, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारीहरू, बीमा विज्ञ तथा बीमा मध्यस्थकर्ता र अन्य बीमा सेवा प्रदायक लगायत वित्तीय क्षेत्रका सङ्घ संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहनेछ । प्राधिकरणका अनुसार उक्त सम्मेलनमा नेपाली र विदेशी गरी अनुमानित ३५० जना सहभागी हुने छन् । उक्त सम्मेलनमा उपस्थित हुन स्वदेशी र विदेशी सहभागीहरुले आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ । जसको लागि छुट्टाछुट्टै शुल्क तोकिएको प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका अनुसार सार्क राष्ट्रका सहभागीहरुलाई ३ सय डलर र सार्क राष्ट्र बाहेकका राष्ट्रका सहभागीहरुलाई ५ सय डलर तोकिएको छ । त्यस्तै, स्थानीय नेपाली सहभागीहरुलाई भने १५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारीले बताइन् । उक्त शुल्क स्थानीय नेपाली सहभागीहरूले नगद वा चेक मार्फत र अन्तर्राष्ट्रिय सहभागीहरूले क्रेडिट कार्ड वा अन्तर्राष्ट्रिय बैंक स्थानान्तरण मार्फत भुक्तानी गर्न सक्नेछन् । प्राधिकरणले अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो बनाउन उक्त सम्मलेन आयोजना गर्न लागेको हो । ‘अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो बनाउन, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति देखाउनु नै यो सम्मेलनको उद्देश्य हो,’ निर्देशक अधिकारीले बताइन् । साथै, यो सम्मेलनले बीमा क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई नै फाइदा हुने प्राधिकरणको भनाई छ । सम्मेलनमा बीमा क्षेत्रका विद्यमान अवस्था तथा जोखिमहरू र सोको निवारणका लागि अवलम्बन गरिएका अन्तर्राष्ट्रिय अभ्यास, जलवायु परिवर्तन र त्यसको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका काम कारवाही र बीमा क्षेत्रको दीगो विकासका लागि चाल्नुपर्ने कदम लगायतका बीमा क्षेत्र सम्बन्धी समग्र विषयमा कार्यपत्रहरूमाथि छलफलका साथै आपसी अनुभव आदान प्रदान गर्ने कार्यक्रम रहेको छ । प्राधिकरणले आयोजना गर्ने उक्त सम्मेलनको सह-आयोजकको रुपमा इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस), एशियन डेभलपमेन्ट बैंक (एडीबी) र एसेस टु इन्स्योरेन्स इनिसियटिभ (एटुआईआई) रहेका छन् ।

निजी बैंकलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंक आक्रामक, नबिललाई पछ्याउँदै नेपाल बैंक

काठमाडौं । १० महिनाको अवधिमा झण्डै ३ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार २१ वटा वाणिज्य बैंकहरुले १० महिनामा ६.१७ प्रतिशत अर्थात् २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेर ४८ खर्ब ४० अर्ब रुपैयाँ पुर्याएका हुन् । गत असार मसान्तसम्म बैंकहरुसँग ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । पछिल्लो तथ्याङ्क अनुसार निजी बैंकहरुलाई पछि पार्दै राष्ट्रिय वाणिज्य बैंकले निक्षेप संकलन ह्वात्तै बढाएको छ । १० महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १५.४९ प्रतिशत अर्थात् ४७ अर्ब रुपैयाँ बढाएर ३ खर्ब ३ अर्ब रुपैयाँ पुर्याएको छ । गत असारसम्म बैंकसँग २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, नबिल बैंकको ४४.३२ अर्ब बढेर ३ खर्ब ७३ अर्ब रुपैयाँ, नेपाल बैंकको ३५.६३ अर्ब बढेर २ खर्ब ३२ अर्ब रुपैयाँ, ग्लोबल आइएमई बैंकको २४.२३ अर्ब बढेर ४ खर्ब २१ अर्ब रुपैयाँ र नेपाल एसबिआई बैंकको २३.६८ अर्ब बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको २०.२९ अर्ब रुपैयाँ बढेर २ खर्ब १६ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको १८.२७ अर्ब बढेर ३ खर्ब १३ अर्ब रुपैयाँ र कृषि विकास बैंकको १७.९९ अर्ब बढेर १ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, एभरेष्ट बैंकको १४.२० अर्ब बढेर १ खर्ब ८७ अर्ब रुपैयाँ, एनएमबि बैंकको १२.८४ अर्ब बढेर १ खर्ब ९९ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको १२.४५ अर्ब बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.२४ अर्ब बढेर १ खर्ब १४ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.०५ अर्ब बढेर ३ खर्ब ५३ अर्ब रुपैयाँ, सानिमा बैंकको ८.७३ अर्ब बढेर १ खर्ब ६७ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ६.२० अर्ब बढेर १ खर्ब ६१ अर्ब रुपैयाँ, प्राइम बैंकको ३.१९ अर्ब बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.४५ अर्ब बढेर १ खर्ब ५१ अर्ब रुपैयाँ र सनराइज बैंकको ७६ करोड बढेर १ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा ३ बैंकको निक्षेप संकलन भने घटेको छ । जसमध्ये हिमालयन बैंकको ६ करोड घटेर २ खर्ब ६७ अर्ब रुपैयाँ, प्रभु बैंकको ३.८१ अर्ब घटेर २ खर्ब ७९ अर्ब रुपैयाँ र कुमारी बैंकको १२.६९ अर्ब बढेर ३ खर्ब ११ अर्ब रुपैयाँमा सीमित भएको तथ्याङ्कले जनाएको छ । यस्तै, बैशाखसम्मको तथ्याङ्क अनुसार बैंकहरुको कर्जा प्रवाह २.८७ प्रतिशत अर्थात् १ खर्ब २३ अर्ब रुपैयाँ बढेर ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुर्याएका छन् । गत असार मसान्तसम्म बैंकहरुसँग ४१ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । कर्जा विस्तारमा भने नबिल बैंक आक्रामक बनेको छ । यस बैंकले १० महिनाको अवधिमा ३५.५३ अर्ब बढाएर ३ खर्ब ३४ अर्ब रुपैयाँ पुर्याएको छ । गत असार मसान्तसम्म बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका थिए । बैंकको तथ्याङ्क अनुसार नेपाल एसबिआई बैंकको १३.०५ अर्ब बढेर १ खर्ब २३ अर्ब रुपैयाँ, एनएमबि बैंकको १०.४७ अर्ब बढेर १ खर्ब ९२ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १०.१४ अर्ब बढेर १ खर्ब ६४ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ९.५९ अर्ब बढेर २ खर्ब ५८ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकको ७.४२ अर्ब बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ, प्राइम बैंकको ७.१९ अर्ब बढेर १ खर्ब ६२ अर्ब रुपैयाँ, सिटिजन्स बैंकको ६.८४ अर्ब बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तै,सानिमा बैंकको ६.५३ अर्ब बढेर १ खर्ब ४७ अर्ब रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकको ५.५२ अर्ब बढेर ९५ अर्ब रुपैयाँ, हिमालयन बैंकको ५.०२ अर्ब बढेर २ खर्ब ४८ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९३ अर्ब बढेर ३ खर्ब २२ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको ३.५० अर्ब बढेर १ खर्ब ८९ अर्ब रुपैयाँ, लक्ष्मी बैंकको २.९४ अर्ब बढेर १ खर्ब ३५ अर्ब रुपैयाँ, माछापुच्छ्रे बैंकको २.६३ अर्ब बढेर १ खर्ब ३२ अर्ब रुपैयाँ, प्रभु बैंकको १.२४ अर्ब बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ, नेपाल बैंकको १.२१ अर्ब बढेर १ खर्ब ८२ अर्ब रुपैयाँ र कुमारी बैंकको ८४ करोड बढेर २ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सनराइ बैंक र ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह भने घटेको छ । बैशाख मसान्तसम्म सनराइज बैंकको ६३ करोड घटेर १ खर्ब २३ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकको १.१६ अर्ब घटेर ३ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।