पैसा फिर्ता गर्न नसकेका सहकारीलाई समय दिइने, बचतकर्ताले धैर्य गर्नु पर्ने
काठमाडाैं । बचतकर्ताको पैसा दिन नसकेका सहकारीलाई समय दिइने भएकाे छ । सहकारी विभागले शुक्रबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै यस्ताे जानकारी दिएकाे हाे । विभागका रजिष्ट्रार नमराज घिमिरेले यसकाे लागि बचतकर्ताले धैर्य गर्नुपर्ने बताएका छन् । उनले यस्ता सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने बताए । दायित्वको कानुनी ग्रहण नगरेसम्म यो सुविधा नपाइने घिमिरेको भनाइ छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने उनले बताए । ‘बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनु पर्छ,’ उनले भने । यस्तै, उनले अहिले सहकारी बारे आइरहेकाे विषयवस्तुप्रति सरकारकाे गम्भिर ध्यानाकर्षण भएकाे र यसकाे लागी कार्यदल बनेकाे जानकारी दिए । सहकारीमा केही समस्या आइरहेकाे र दैनिक जसाे संचालकहरु भाग्ने गरेकाे बताउँदै उनले भने,’ सहकारीमा तीन किसिमकाे समस्या देखिएकाे छ, कोभिडपछि अर्थतन्त्रमा परेको समस्याका देखिएकाे बताउँदै उनले भने, ‘वित्तीय कारोबार गर्ने १५ हजार सहकारी रहेकाेमा सहकारीमा समस्या देखिएपछि बचतकर्ताले रकम फिर्ता लिन थाले, यसले राम्रो सहकारीलाई पनि समस्या आयो ।’ यस्तै, सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेकाे र घरजग्गामा दबाब आउँदा यो अवस्था आएकाे उनले बताए । संचालकले बदनियतले कारोबार गर्दा र आफ्नाे वा आफ्न्तकाे कम्पनीमा लगानी गर्दा समस्या देखिएकाे उनी बताउँछन् । यि तीन समस्यालाई समाधान गर्न अर्थतन्त्रको कारणले समस्यामा आएका सहकारीलाई बचत फिर्ताका लागि समय दिने, घरजग्गामा लगानी गरेकालाई स्वतन्त्र छोड्नुको सट्टा सञ्चालकहरुले संस्थाको दायित्व ग्रहण गर्नु पर्ने र बदनियत भएका सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याएर बचत फिर्ता गराउने उनले बताए ।
सानिमा बैंक अब नवलपरासीको सुनवलमा
काठमाडौं । सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । उक्त समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गरे । त्यस्तै, सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटिएम संचालनमा रहेका छन् ।
समीट लघुवित्तको साधारण सभा स्थगित
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा स्थगित गरेको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो । लघुवित्तले कारणबस स्थगित गरेको बताउँदै अर्काे सूचना जारी नभएसम्म वार्षिक साधारण सभा स्थगित गरेको जनाएको छ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०।७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव गरेको थियो । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८/७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । संस्थाको अधिकृत पूँजी ७० करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव, समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान प्रस्ताव थियो ।