नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तको नयाँ स्वाप रेसियो तोकियो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि स्वाप रेसियो तय भएको छ । दुवै लघुवित्तको संयुक्त सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले मर्जरमा जान लागेका दुबै लघुवित्तबीच स्वाप रेसियो निर्धारण गरेको हो । दुबै लघुवित्तको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदनमा उल्लेख भएको सेयर स्वाप रेसियो निर्धारण गरिएको हो । सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघसवित्तको ७३ कित्ता सेयर कायम हुनेछ । मर्जर सम्बन्धी प्रारम्भिक सम्झौताको तुलनामा डीडीए रिपोर्ट पश्चात् स्वाप रेसियो घटेको हो । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएको थियो । दुवै लघुवित्तले गत असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्डको सुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले आज शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उक्त क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटिएमबाट सजिलै नगद झिक्न, पिओयस मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । बैंकका अनुसार कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।

नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता भएको छ । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेश्नल बिच ग्राहकलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम भुक्तानी गर्ने सम्झौता भएको छ ।  नेपाल एसबिआई बैंकका सम्पुर्ण शाखा मार्फत भुक्तानी प्रदान गर्ने सम्झौता भएको हाे । उक्त सम्झौता, प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल बिच सम्पन्न भयो । साथै, नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनालको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देव बहादुर थापाको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।