सार्वजनिक संस्थानको नाफा डेढ अर्ब रुपैयाँ, कुनको अवस्था कस्तो ?
काठमाडौं । गत वर्ष सार्वजनिक संस्थानहरुले डेढ अर्ब रुपैयाँ खुद नाफा गरेका छन् । सरकारले सार्वजनिक गरेको पहेलो किताबमा सार्वजनिक संस्थानहरुले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको हुन् । सार्वजनिक संस्थानको वित्तीय विवरणअनुसार २५ वटा संस्थान खुद नाफामा रहेका छन् जसको खुद नाफा ४३ अर्ब २ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी १७ संस्थान खुद नोक्सानीमा रहेका छन् जसको खुद नोक्सान ४१ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । समीक्षा अवधिमा वित्तीय क्षेत्र खुद नाफामा र अन्य ५ क्षेत्रको कार्यसम्पादन मिश्रित अवस्थामा रहेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा खुद नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा करिब २५ अर्ब रुपैयाँले घटेको छ । क्षेत्रगत संस्थानमध्ये व्यापारिक क्षेत्र अघिल्लो आर्थिक वर्षमा करिब ३७ करोड रुपैयाँ नोक्सानमा रहेकोमा गत आर्थिक वर्षमा करिब ३८ अर्ब रुपैयाँ नोक्सानमा रहेको छ । व्यापारिक क्षेत्रको नोक्सानीको ठूलो हिस्सा नेपाल आयल निगमको रहेको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४३ करोड नोक्सानमा रहेको निगम गत आर्थिक वर्षमा करिब ३८ अर्ब नोक्सानमा रहेको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि र लागतअनुसारको मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमको नोक्सानी बढेको हो । त्यसैगरी, जनपोयोगी क्षेत्र अन्तर्गत नेपाल विद्युत प्राधिकरणको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भई करिब ७ अर्ब नाफा बढेको देखिन्छ भने नेपाल दूरसञ्चार कम्पनीको पनि करिब १ अर्बले नाफा बढेको छ । पछिल्लो आर्थिक वर्षमा समग्र कारोबारबाट भएको खुद नाफा (कर र लाभांश पश्चात्) तथा नोक्सान रकम अघिल्लो आर्थिक वर्षसम्मको नाफा र नोक्सान (समायोजन नगरेको)सँग मिलान गरी हुन आउने रकमलाई सार्वजनिक संस्थानको सञ्चित नाफा र नोक्सानमा देखाउने गरिएको छ । यस्तो रकम आर्थिक वर्ष २०७८/७९ सम्ममा ५२ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
बीमा कम्पनीसँगै घटे शाखा, ८४.७ प्रतिशतसम्मले बढ्यो लगानीयोग्य रकम
काठमाडौं । एक वर्षको अवधिमा बीमा कम्पनीको संख्या १२.२० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७८ फागुनको तुलनामा २०७९ फागुनसम्ममा कम्पनीको संख्या सो मात्राले घटेको हो । २०७८ फागुनसम्म जीवन बीमा कम्पनी १९, निर्जीवन बीमा कम्पनी २० र पुनर्बीमा कम्पनी २ गरी जम्मा बीमा कम्पनीको सङ्ख्या ४१ रहेको थियो । जुन घटेर २०७९ फागुनसम्म जीवन बीमा कम्पनी १८, निर्जीवन बीमा कम्पनी १६ र पुनर्बीमा कम्पनी २ वटामा झरेका छन् । नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धि गर्ने व्यवस्थाको कारण चालु आर्थिक वर्षको शुरुवात देखि नै बीमकहरू गाभ्ने र गाभिने क्रम शुरु भएको छ । फलस्वरूप, बीमकको संख्यासँगै शाखा कार्यालयहरू पनि घटेका हुन् । २०७८ फागुनसम्म बीमकको शाखा संख्या जीवन बीमातर्फ २,२९२ र निर्जीवन बीमातर्फ १,०३७ रहेकोमा २०७९ फागुनसम्म यस्तो सङ्ख्या क्रमशः २,२०६ र १,०३७ रहेको छ । २०७९ फागुनसम्म जीवन बीमा व्यवसाय गर्ने बीमकको स्रोत तथा उपयोग ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको ८९ अर्ब ५८ करोड गरी ७ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग ६ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । २०७९ असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित बीमाको दायरामा आएको जनसङ्ख्या ४१.२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म ४४.०५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम क्रमशः वृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमातर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तर्गत १८ अर्ब ९६ करोड रकम बराबरको दावी भुक्तानी भएको छ । निर्जीवन बीमातर्फ १ लाख ९ हजार ९ सय ८० बीमालेखको १६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६ सय ३५ बीमा दाबीको ४४ अर्ब ६० करोड रुपैयाँ र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १ सय ८६ बीमा दाबीको १८ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी भएको थियो ।
बैंकिङ्ग क्षेत्रको हिस्सा ५८.७७ प्रतिशत, राष्ट्र बैंकको कति ?
काठमाडौं । नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ्ग क्षेत्रको हिस्सा उच्च रहेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा वाणिज्य बैंकको हिस्सा उच्च रहेको देखिएको छ । गत पुससम्म वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको ८६.६ प्रतिशत हिस्सा रहेको छ । वित्तीय क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४.७ प्रतिशत, वाणिज्य बैंकको अंश ५८.८ प्रतिशत, विकास बैंकहरुको ६.२५ प्रतिशत, फाइनान्स कम्पनीहरुको १.४८ प्रतिशत र लघुवित्त वित्तीय संस्थाहरुको ५.०६ प्रतिशत अंश रहेको छ । यस्तै, नेपाल पुर्वाधार विकास बैंक (निफ्रा)को ०.२६ प्रतिशत, कर्मचारी संचय कोषको ४.६६ प्रतिशत, नागरिक लगानी कोषको २.२२ प्रतिशत, बीमा कम्पनीहरुको ६.५५ प्रतिशत र हुलाक बचत बैंकको ०.०३ प्रतिशत अंश रहेको छ ।