एनआइबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल र सस्तोडिलबीच सम्झौता भएको छ । एनआईबीएल एस म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबीएल सहभागीता फण्डमा कर्पाेरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीका कर्मचारीले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सस्तोडिलका तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सुमित्रा केसी र क्यापिटलको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् । यस योजना अन्तर्गत सस्तो डिलका विभिन्न तहका कर्मचारीहरुले आफूले इच्छा गरे अनुरुप मासिक रुपमा आउने तलबको केही अंश निरन्तर एनआइबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन् ।

नेपाल बैंकका ग्राहकले अब एटिएम कार्ड बोक्न नपर्ने, मोको वालेटबाट भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल बैंक र फोकसोन पेमेन्ट सोलुसनबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक संजीव जोशी र फोकसोनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्डमा मोको डिजिटल वालेटमा जोडी विभिन्न सेवाहरु जस्तै मोवाईल टप अप इन्टरनेट, बिजुली, खानेपानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन । साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेटमार्फत स्क्यान टु पे गरी ६ हजारभन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन् । हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड जोडी गरी विभिन्न भुक्तानी गर्न सकिनेछ । भिसा कार्ड प्रयोग गरी विल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भयो । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आसपमा मर्ज भई हिमालय लाईफ इन्स्योरेन्स कायम भई वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।