नेप्सेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सेयर आइजीआई सिम्बोलबाट सूचिकृत भई कारोबार हुनेछ । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६.३९ कित्ता शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचिकृत भएको हो । इन्स्योरेन्स कम्पनीको सो सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

१५ सय महिलाको सहभागीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा १५ सय भन्दा बढी विभिन्न लघुवित्तमा आवंद्ध महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा महूली लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले आजको चुनौतिपूर्ण अवस्थामा कुनै भ्रममा नलागी लघुवित्तलाई यसको मर्म र भावना अनुसार संचालनमा सहयोग गर्नु पर्ने कुरा बताएका थिए । यसैगरी कार्यक्रममा उद्योग वाणिज्य महासंघ उदयपुरका अध्यक्ष चुडामणि कार्कीले अहिले लघुवित्तहरुले वैंक भन्दा पनि सस्तो व्याजमा गाउँ गाउँमा गई आफ्नो सेवा प्रदान गरिरहको बताएका थिए । कार्यक्रममा विभिन्न लघुवित्तमा सफल उद्यमी वनेका महिलाहरुले समेत आफ्नो अनुभव सुनाएका थिए ।

कामना सेवा विकास बैंकका ग्राहकलाई प्रारम्भ ड्राईभिङ्ग स्कुलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।