जनकपुर र महोत्तरीमा मिटरब्याजीविरुद्ध पाँच हजारले दिए उजुरी

महेन्द्रनगर धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो । जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएपछि पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका थिए । निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निःशुल्क भरिदिने प्रबन्ध मिलाइएको थियो । प्रदेशको आठवटै जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौँको सङ्ख्याका मिटरब्याज पीडितले उजुरी दर्ता गराएका थिए । रासस

राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको रिलायबल लाइफले गरिदियो बीमा

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी जीवन बीमा गरिदिएको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी प्रोत्साहान गर्ने र यस्तो कार्यमा सहभागी हुँदा गर्व महशुस भएको बताए । कम्पनीले ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरिसकेको छ ।

‘आइएमई पे’ सुरक्षित विद्युतीय वालेट भएको प्रमाणित

काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम भएकाे पुष्टि भएकाे छ । आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो । सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।