अब भारत जाँदा नेपालीले नोट साट्नुपर्ने बाध्यता हट्नेछ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।आईतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्टलाई सहज गर्ने गरी नेपाल क्लियरिङ हाउस (एसिएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपिसिआई) बीच सम्झौताले नेपाल र भारत डिजिटल कारोबारमा सहजता ल्याउने बताए । ‘नेपाल र भारतबीच भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले मुख्यगरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेन्टको समस्या हल गर्नेछ, नेपालबाट भारत जाने विद्यार्थी, उपचार गर्न जाने बिरामी, पर्यटक र तीर्थयात्रीहरु सबैलाई नोट साट्नुपर्ने बाध्यता हट्नेछ,’ उनले भने । गभर्नर अधिकारीले राष्ट्र बैंकले दुई देशबीच हुने डिजिटल भुक्तानीलाई व्यवस्थित बनाउने विषयमा होमवर्क गरिरहेको बताए । यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकबाट दिनुपर्ने सहमति स्वीकृतिका लागि सहजिकरण गर्न राष्ट्र बैंकमा छुटै ट्रान्सफोर्सले काम गरिरहेको पनि बताए । उनले भारतमा भारत पे लोकप्रिय रहेको भन्दै नेपालमा पनि नेपाल पे ल्याउने तयारी रहेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच गत बिहीबार क्रसबोर्डर डिजिटल पेमेन्टका लागि समझदारी भएसँगै दुवै देशबीच हुने डिजिटल भुक्तानी कारोबारले मान्यता पाउने भएको हो । सम्झौतामा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड ९एसिएचएल०का प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान र भारतको तर्फबाट नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया ९एनपिसिआई०का तर्फबाट रितेस शुक्लाले हस्ताक्षर गरेका थिए । एनपिसिआई भारतीय केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डियाद्वारा स्थापित संस्थान हो । नेपाल क्लियरिङ हाउस लिमिटेड ९एसिएचएल० पनि राष्ट्र बैंकको पहलमा स्थापना भएको संस्था हो ।

कर्मचारीको घेराउमा सीईओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु आन्दोलित बनेका छन् । आफूहरुले राखेका मागहरु सम्बोधन नभएको भन्दै बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित बनेका हुन् । बैंक कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले आफूहरुले राखेका मागको सम्बोधन नगरेपछि आन्दोलन गर्नु परेको बताए । आफूहरुले राखेका माग कार्यान्वयन गर्ने सम्झौता गरेको भएपनि विगत ६ महिनादेखि सम्बोधन नै हुन नसकेको उनको भनाइ छ । ‘प्रत्येक २/२ वर्षमा ट्रेड यूनियनहरुले मागहरु राख्न पाउँछन्, श्रम ऐनले दिएको अधिकार प्रयोग गरेर माग दावी गरिएको हो, ती मागहरु व्यवस्थापन समूह र संगठनबीच सम्झौता भएर सञ्चालक समितिले पास गरेको हो तर, ६ महिनादेखि कार्यान्वयन नभएकाले आन्दोलन गर्नु परेको हो,’ उनले भने । उनका अनुसार प्रशासनिक, व्यवस्थापकीय र आर्थिक गरी तीन वटा माग गरिएका छन् । आफूहरुले उठाएका मागहरु उच्च व्यवस्थापन तहले कार्यान्वयन गर्न नमाने पछि आन्दोलन गर्नु परेको उनले बताए । साथै मागहरु कार्यान्वयनका लागि कुनै छाँटकाट नै नदेखिएको उनको भनाइ छ । उनका अनुसार अन्य संगठन पनि आन्दोलन गर्ने तयारीमा रहेका छन् । ‘अहिले हामीले काम बन्द गरेका छैनौं, व्यवस्थापन समूहमा धर्ना मात्रै दिएको हो, ग्राहकहरुको सेवामा कुनै अवरोध गरेका छैनौं, व्यवस्थापन समूहमा पनि सीईओको कार्यालय घेराउ गरेको हो,’ उनले भने, ‘काममा कुनै बाधा नपुग्ने गरी सांकेतिक रुपमा आन्दोलन गरेको हो, बिहान १० देखि २ बजेसम्म सीईओ कार्यालय घेराउ गरेको हो ।’  यदि कर्मचारीहरुको माग पुरा नभए आन्दोलन चर्काउने बताइएको छ । राष्ट्रिय वाणिज्य बैंकमा तीनवटा कर्मचारी संंगठन सक्रिय रहेकोमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा माओवादी केन्द्र निकट कर्मचारीको संस्था हो । सो संगठनमा १९ जनाको सचिवालय छ ।

नेप्सेमा एक लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।