निफ्रा बैंकले ५० करोडभन्दा बढी ऋण दिँदा रेटिङलाई आधार मान्नुपर्ने
काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)ले ५० करोड रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा रेटिङ गरेको हुनु पर्ने छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने जनाएको छ । यस्तै, पूर्वाधार विकास बैंकले आवश्यक नीति तर्जुमा गरी प्राथमिक पुँजीको १० प्रतिशतको सीमाभित्र रही जग्गा, भवन वा दुवै खरिद वा भवन निर्माण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । त्यस्तै, नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का÷फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिन निफ्रालाई भनेको हो । यस्तै, पूर्वाधार विकास बैंकको काम कारवाही सम्बन्धी गुनासोको सुनुवाई सहज बनाउन बैंक तथा वित्तीय संस्थाले यस बैंकको गुनासो पोर्टलको लिङ्क आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।
यी अवस्थामा कम्पनीको ऋण तिर्ने क्षमतामा ह्रास भएको मानिने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनी डिलिस्ट भएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मान्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै नेप्सेमा सूचीकृत कम्पनी डिलिस्ट हुने अवस्था आएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मानिने जनाएको छ । ‘ऋणी कम्पनी नेपाल स्टक एक्सचेन्जबाट डिलिस्ट भएमा वा डिलिस्ट हुने प्रक्रियामा रहेमा, कर्जाको किस्ता वा ब्याज भुक्तानीको लागि ऋणीको वास्तविक वित्तीय अवस्था वा अनुमानित वित्तीय अवस्था पर्याप्त नभएमा,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । कस्ट ओभररन, टाइम ओभररन, क्यासफ्लो मिसम्याच जस्ता अल्पकालिन कारणले आम्दानीमा ह्रास आई कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी नभएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने छ । यस्तै, कर्जाको किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी भएतापनि प्रतिकूल बाह्य अवस्था वा अन्य कुनै कारणले ऋणीको भविष्यका किस्ता वा ब्याज निर्धारित भाखामा भुक्तानी हुन नसक्ने अवस्था सिर्जना भएमा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको बुझिने राष्ट्र बैंकले जनाएको छ ।
छैटौं वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सले गर्यो वृहत रक्तदान कार्यक्रम
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसका साथै छैटौं वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस अघि आईएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेकाे छ । देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसर समेत पारेर वित्तिय जनचेतनाद्वारा युवा सशक्तिकरणको कार्यक्रम समेत गरेर छैटौं वार्षिकोत्सव भव्यरुपमा मनाएको बताए । रक्तदान अघि आजै बिहान साढे छ बजेदेखि काठमाण्डौ लगायत सातै प्रदेशमा जीवन बीमा बारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागीता थियो । २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।