१२.३ प्रतिशत बढ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन
काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ असारमा यस्तो निक्षेपको अंश ३८.३ प्रतिशत रहेको थियो ।
शोधनान्तर तीन खर्ब रुपैयाँ बचतमा, चालु खाता ७२ अर्ब १६ करोड घाटामा
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १२ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार गत वर्ष २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, गत वर्ष चालु खाता ७२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६२३ अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाख रुपैयाँले घाटामा रहेको छ । समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्घि भई १३४५ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १९३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए । २०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६५४ अर्ब ५० करोड रुपैयाँ तथा दायित्व १७२९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २७१ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो।
सिटिजन्स बैंकका ग्राहकलाई बिराट मेडिकल सेन्टरमा ५० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भोटेपुल, धरान स्थित बिराट मेडिकल सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका बिभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।