धमाधम संस्थापक सेयर किन्दै एशियन लाइफ, सेयरमा मात्र साढे ८ अर्ब लगानी
काठमाडौं । गत साउनमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर किन्याे । प्रतिकित्ता ३६६ रुपैयाँका दरले आईएमई समूहसँग ५८ करोड ४५ लाख ६१ हजार ४०० रुपैयाँमा उक्त सेयर एशियनले किनेको हो । यो खरिदसँगै नेपाल इन्स्योरेन्समा करिव १५ प्रतिशत सेयर हिस्सा सहित मुख्य प्रवर्द्धक एशियन लाइफ इन्स्योरेन्स बनेको छ । कुनै एक कम्पनी वा व्यक्तिले बैंक र बीमा कम्पनीमा १५ प्रतिशतभन्दा बढी सेयर किन्न नपाउने नियम छ । उक्त सीमा भित्र रहेर नेपाल इन्स्योरेन्सको सेयर खरिद गरिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठले बताए । नेपाल इन्स्योरेन्समा मात्र होइन, एशियन लाइफ इन्स्योरेन्सले विभिन्न कम्पनीको प्रवद्र्धक सेयर किनिरहेको छ । ‘प्रवर्द्धक सेयरधनीलाई कानुनले विभेदपूर्ण व्यवहार गरेकाले व्यक्तिले प्रवद्र्धक सेयर बेचिरहेको पाइन्छ । हामीले कानुनी सीमा भित्र रहेर प्रवर्द्धक सेयर किनिरहेका छौं’ श्रेष्ठले विकासन्युजसँग भने । पछिल्लो समय प्रभु बैंकको प्रमोटर सेयर पनि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले किनिरहेको बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बताए । ‘पछिल्लो समय प्रभु बैंकको प्रमोटर सेयर किनबेच बढेको छ । बेच्नेहरुमा एउटा व्यक्ति वा समूह भन्ने छैन । किन्न चाही बढी एशियन लाइफले किनिरहेको देखिन्छ’ अध्यक्ष सिटौलाले भने । निर्जीवन बीमा कम्पनी, बैंक, होटल, जलविद्युत कम्पनीहरुको प्रर्वद्धक सेयर चरणबद्ध रुपमा कम्पनीले लिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले बताए । कम्पनीले क्राउन इम्पेरियल होटलको ४० प्रतिशत प्रमोटर सेयर खरिद गरेको छ । त्यस्तै माउन्ट ग्लोरी फरेष्ट रिसोर्टमा ४० प्रतिशत सेयर लगानी गरेको छ । विभिन्न ६ वटा जलविद्युत कम्पनीहरुमा पनि प्रवद्र्धक भएर लगानी गरिरहेको उनले बताए । ती कम्पनीहरुले पनि छिट्टै आईपीओ जारी गर्न लागेको त्यतिबेला सबैलाई एशियन लाइफको लगानीबारे जानकारी हुने उनले बताए । नेपाल बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले सेयरमा मात्रै कूल ८ अर्ब ५० करोड १० लाख रुपैयाँ लगानी गरेको देखिन्छ । कुन क्षेत्रमा कति छ लगानी ? नियमन निकाय नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार इन्स्योरेन्सले आर्थिक वर्ष ०७९/०८० मा कूल ३५ अर्ब ७१ करोड ७१ लाख रुपैयाँ लगानी गरेकोे छ । जसमध्ये वाणिज्य बैंकको मुद्दती निक्षेपमा २२ अर्ब ५५ करोड ९३ लाख, विकास बैंकको मुद्दती निक्षेपमा १ अर्ब ७० करोड १८ लाख, वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८० करोड ६७ लाख, सूचिकृत कम्पनीको साधारण सेयरमा ७७ करोड ७७ लाख, सूचिकृत कम्पनीको बोण्ड एण्ड डिबेन्चरमा ६ अर्ब ३२ करोड ८ लाख, म्यूचुअल फण्ड तथा नागरिक लगानी कोषमा ६ करोड ६५ लाख रुपैयाँ, सरकारी ऋणपत्रमा ६२ करोड ५० लाख रुपैयाँ, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा र जलश्रोत लगायतका क्षेत्रमा १ अर्ब ४४ करोड २० लाख रुपैयाँ, अन्य प्रमोटर सेयरमा १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ र अन्य लगानीमा ८ करोड १२ लाख ८० रुपैयाँ लगानी इन्स्योरेन्सले गरेको छ । कुन क्षेत्रमा कति लगानी गर्न पाइन्छ ? बीमा कम्पनीको लगानी निर्देशिका अनुसार जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले विभिन्न ११ वटा क्षेत्रमा लगानी गर्न पाउने छन् । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो कूल लगानीको न्यूनतम ५ देखि अधिकतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप र बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा आफ्नो लगानीको बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । तर, कुनै पनि संस्थाको सेयर, बन्ड, ऋणपत्रमा लगानी गर्दा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाइने छैन । त्यस्तै, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यो सीमाअनुसार लगानी गर्न नसक्ने अवस्था आएमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर उक्त कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी भने लगानी गर्न पाइने छैन । त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, सूचीकृत कम्पनीको साधारण सेयर, घरजग्गा, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यीमध्ये घरजग्गामा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एकपटक मूल्यांकन गर्नुपर्ने छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, नागरिक लगानी कोष तथा म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने व्यवस्था छ ।
सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टलमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पुल्चोक, ललितपुर स्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३३ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कसले किन्यो कुमारी बैंकको साढे २८ करोडको सेयर ?
काठमाडौं । मंगलबार कुमारी बैंकको २८ करोड ५९ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर बिक्री भएको छ । एकैदिन बैंकको २५ लाख ३० हजार २६२ कित्ता प्रमोटर सेयर प्रतिकित्ता ११३ रुपैयाँमा किनबेच भएको हो । सो दिन ब्रोकर नम्बर ४ (ओपल सेक्युरिटिज), ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटज प्रा.लि), ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटज कम्पनी), ब्रोकर नम्बर ५९ (दिब्या सेक्युरिटज प्रा.लि) मार्फत बैंकको सो मात्राको प्रमोटर सेयर खरिद बिक्री भएको हो । सम्बन्धित स्रोतका अनुसार उक्त सेयर एमएस ग्रुपबीच आन्तरिक कारोबार भएको हो । उक्त सेयर एउटा संस्थापकले अर्को संस्थापकलाई बेचेको उक्त स्रोतले विकासन्युजलाई बतायो । दिनभरमा बैंकको ५ वटा कारोबारमा २५ लाख ३० हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको छ । सोमध्ये पहिलो कारोबारमा ४४ हजार ९२७ कित्ता सेयरको बिक्री ४९ नम्बर ब्रोकरबाट भएको छ भने ५९ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाट ६ लाख कित्ता सेयर किनेको छ । तेश्रो कारोबारमा पनि ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४ बाटै पुनः ६ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । र, चौथो र पाँचौ कारोबारमा क्रमशः ६ लाख र ६ लाख ४५ हजार ३३५ कित्ता सेयर किनबेच भएको देखिन्छ । उक्त सेयरको बिक्री ब्रोकर नम्बर ५८ बाट भएको छ भने खरिद ब्रोकर नम्बर ४ बाट भएको देखिन्छ ।