काठमाडौं महानगरले खारेज गर्याे २ सहकारीको दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी गरेको महानगरपालिकाको शहकारी विभागले जनाएको छ । महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी २ संस्थाहरुको दर्ता खारेजी गरिएको बताएको छ । ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ,’ सहकारी ऐनमा उल्लेख छ । ज्येष्ठ नागरिक र सुकस बचत तथा सहकारी संस्थाले दर्ता खारेजी स्वीकृतिका लागि निवेदन दिएका थिए । सोहीअनुसार दर्ता खारेजी गरिएको महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।
ग्लोबल आइएमई र बि.ओ.के.क्यापिटलको आजदेखि एकीकृत कारोबार
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै क्यापिटल कम्पनीहरु मर्ज भई आज भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने र्भका हुन् । दुवै कम्पनीका माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि सहायक कम्पनीका रुपमा सञ्चालन भइरहेका ग्लोबल आइएमई क्यापिटल र बि.ओ.के.क्यापिटल मार्केटल पनि मर्ज हुन लागेका हुन् । दुवै कम्पनी मर्ज भई सोमबारदेखि ग्लोबल आइएमई क्यापिटलका रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन शुरु गर्नेछन् । दुवै कम्पनीको गत असार ३ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेको छ । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गरेको हो । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ ।
२३९ रुपैयाँमा सन नेपाल लाइफको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता विदेशमा रोजगारी गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ४ लाख ८० हजार कित्ता सेयरमा कम्पनीमा कार्यरत कर्मचारी र बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।