सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

काठमाडौं । सनी सेक्यूरिटिजले धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएको छ । सनी सेक्यूरिटिज कम्पनी (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ । कम्पनीका अनुसार पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ । २०६४ सालमा १ करोड ६० लाख चुक्ता पूँजीबाट आफ्नो कारोबार शुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापूँजी वृद्धि गर्दै हाल आफ्नो चुक्ता पूँजी ६० करोड पु¥याई सम्पूर्ण ग्राहकवर्गमा उच्चतम सेवा सुविधा दिँदै आएको कम्पनीले जनाएको छ । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स लिने क्रममा कम्पनीलाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण नियामक निकाय, शेयर लगानीकर्ता, शुभेच्छुक तथा ग्राहकवर्गमा आभार व्यक्त गर्दै कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले भने, ‘पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ । अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण शेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ ।’ यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनले बताए ।

वडाध्यक्षको व्यक्तिगत पहलमा स्वास्थ्य स्वयंसेविकाको जीवन बीमा

मङ्गलबारे । इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो । कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहजता हुने बताइएको छ । सीपमूलक कार्यमा सहभागी हुँदै एकल महिलाका क्रियाकलापमा सहजता प्रदान गर्न सो काम गरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनले पहिला त एकल महिलालाई सङ्गठित बनाएको र उनीहरूको क्रियाकलापमा सहज होस् भनेर सो काम गरेको बताए । सो कोषमा एकल महिलाका तर्फबाट समेत मासिकरूपमा दुई सय जम्मा गरिने छ । साथै वडाध्यक्ष श्रेष्ठले समेत मासिक पाँच सय रकम जम्मा गर्ने बताए । महिला सक्षम भए पनि एकल भएपछि घरमा नै रहने तथा सामाजिक कार्यमा जुट्न अप्ठ्यारो मान्ने भएकाले पनि उनीहरूलाई सङ्गठित गरेर सामाजिक कार्यमा लाग्न प्रेरणा जगाउने उद्देश्यले आफूले सो काम थालेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । वडामा हालसम्मको तथ्याङ्कानुसार ५४ एकल महिला छन् । एकल महिलाले समिति नै निर्माण गरेर काम गर्ने योजना बनाएका छन् । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमासमेत गरिदिएको छ । वडाले चाँडै नै ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि तीर्थयात्रा भ्रमण गराउने योजना छ । वडाध्यक्ष श्रेष्ठकै पहलमा उक्त वडामा रहेका चार महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमासमेत गरिएको छ । यो कार्य इलाम नगरपालिकाको १२ वडामध्ये वडा नं ७ ले सबैभन्दा पहिला सुरु गरेको हो । महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमा वडाको बजेटबाट नभई वडाध्यक्ष श्रेष्ठले व्यक्तिगतरूपमा १५–१५ हजार र महिला स्वास्थ्य स्वयंसेविकाले १०–१० हजार तिरेर १०–१० लाखको जीवन बीमा गरिएको हो । रासस

१४ बीमा कम्पनीले बुझाए २ अर्ब बढी आयकर, सबैभन्दा बढी नेको इन्स्योरेन्सको

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १८ करोड ५९ लाख रुपैयाँ बराबरको आयकर सरकारलाई बुझाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.०६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीहरुले आफ्नो आम्दानीबापत १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका थिए । १४ कम्पनीमध्ये सबैभन्दा बढी कर तिर्नेको सूचीमा नेको इन्स्योरेन्स छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा मात्रै सरकारलाई २६ करोड ५३ लाख रुपैयाँ बराबरको आयकर बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा १८.७९ प्रतिशतले बढी हो । नेकोले अघिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो । त्यस्तै, सबैभन्दा बढी कर तिर्नेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी छ । सरकारको स्वामित्वको यो कम्पनीले एक वर्षमा २२ करोड ४८ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएको हो । जुन अघिल्लो वर्षको तुलनामा ५०.१० प्रतिशतले बढी हो । त्यसपछि, बढी कर तिर्नेको तेश्रो र चौथो सूचीमा नेपाल इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रहेको छ । यी दुईबीच कडा टक्कर देखिएको छ । नेपाल इन्स्योरेन्सले १९ करोड ६९ लाख रुपैयाँ आयकर बुझाउँदा सलिकोले १९ करोड ६७ लाख रुपैयाँ बुझाएको छ । तर प्रतिशतको आधारमा भने सलिको कर वृद्धिदर नेपाल इन्स्योरेन्सकोभन्दा बढी छ । अघिल्लो आवको तुलनामा सलिकोले २१.५५ प्रतिशतले र नेपाल इन्स्योरेन्सले १२ प्रतिशतले आयकर बढाएका छन् । त्यस्तै, रकमको आधारमा हिमालयन एभरेष्ट र ओरियण्टल इन्स्योरेन्सले पनि क्रमशः १७ करोड २४ लाख र १७ अर्ब १४ लाख रुपैयाँ आयकर तिरेको छन् । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १९४.२७ र ३७.५९ प्रतिशतले बढी हो । १४ कम्पनीमध्ये हिमायलन एभरेष्ट इन्स्योरेन्सको आयकर वृद्धिदर सबैभन्दा बढी छ । इन्स्योरेन्सले एक वर्षको अवधिमै १९४.२७ प्रतिशतले आयकर बढाएको छ । कुन बीमा कम्पनीले कति बुझाए आयकर  ? निर्जीवन बीमा क्षेत्रको नम्बर वान कम्पनी शिखर इन्स्योरेन्सले १५ करोड ९९ लाख रुपैयाँ बराबरको आयकर तिरेको छ । यससँगै शिखर इन्स्योरेन्स बढी कर तिर्ने कम्पनीमध्येको आठौं स्थानमा रहेको छ । सिद्धार्थ प्रिमियर, एनएलजी इन्स्योरेन्स आईजीआई प्रुडेन्सियल र प्रभु इन्स्योरेन्सले १० करोडभन्दा बढी आयकर तिरेका छन् । १० करोडभन्दा कम आयकर तिर्नेमा नेशनल इन्स्योरेन्स र यूनाइटेड अजोड रहेका छन् । यी कम्पनीले गत आर्थिक वर्षमा क्रमशः ८ करोड ४७ लाख र ७ करोड ३७ लाख रुपैयाँ आयकर स्वरुप सरकारलाई बुझाएका छन् । कम्पनीहरुले आफ्नो आम्दानी अनुसार सरकारलाई कर बुझाएका हुन् । जसको जति धेरै आम्दानी त्यति नै धेरै कर तिर्नुपर्ने व्यवस्था छ । यससँगै निर्जीवन बीमा क्षेत्रमा पनि सबैभन्दा बढी कर तिरेको नेको इन्स्योरेन्सले आम्दानी पनि सबैभन्दा बढी गरेको छ ।