सर्भेयरको परीक्षामा सामेल हुन सूचीकृत हुनैपर्ने, प्राधिकरणले तोक्यो समय सीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यसअघि तालिम लिएका व्यक्तिलाई परीक्षामा सामेल हुन यस्तो आग्रह गरेको हो । बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम प्राधिकरणले उक्त आग्रह गरेको हो । जसमा योभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको तालिम दिएका व्यक्तिहरुले सर्भेयरको परीक्षा दिन पाउने छन् । त्यसको लागि बीमा प्राधिकरणबाट लिएको तालिमको प्रतिलिपि सहितको निवेदन १५ दिनभित्र इमेलमा पठाइसक्नु पर्ने समेत प्राधिकरणले जानकारी गराएको छ । यससँगै तालिम लिएका व्यक्तिहरुले आगामी भदौ २६ गतेभित्र [email protected] मा इमेल गर्न सक्नेछन् ।

नेप्से परिसूचक घट्दा कारोबार बढ्यो, सोल्टी होटलको सेयर सर्वाधिक किनबेच

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटी हो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । बुधबार १ अर्ब ५१ करोडको कारोबार भएको बजारमा बिहीबार एक अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २७५ वटा स्क्रीप्स कारोबारमा आएको बिहीबारको बजारमा सोल्टी होटलको सर्वाधिक सेयर किनबेच भएको छ । होटलको एकैदिन ७ करोड ८७ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कित्ताको आधारमा पनि सोल्टी होटलकै सर्वाधिक किनबेच भएको छ । जसको एकैदिन एक लाख ७० हजार २१८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसको सेयर मूल्य भने ७.९० रुपैयाँले घटेर अन्तिम कारोबार प्रतिकित्ता ४५५.१० रुपैयाँमा भएको छ । बिहीबार टप गेनरको शीर्ष स्थानमा कुथेली बुखारी स्मल हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०१.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा मौलुङ हाइड्रोपावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता १६२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । दुई दिन लगातार हरियाली छाएको बजार बिहीबार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै उपसूचकहरु घट्दा बजार राताम्मे भएको हो ।

नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्त संस्थाको १४.२५ प्रतिशत बोनस अर्थात २ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।