कुमारी बैंकले एकल अंकमा झार्याे ब्याजदर

काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । यसअघि दोहोरो अंकमा रहेको ब्याजदर घटाएर एकल अंकमा झारेको हो । बैंकले विभिन्न खातामा मंसिर २४ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले आइतबार सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.७१० प्रतिशतदेखि अधिकतम ६.७१० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.५१० प्रतिशतदेखि अधिकतम ७.५१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ७.६१० प्रतिशत र ब्यक्तिगततर्फ ९.६१० प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि बैंकले संस्थागततर्फ ८.०१० प्रतिशत र ब्यक्तिगततर्फ १०.०१० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार अन्य सबै दर, नियम र सर्तहरू गत असोज ३० गते सार्वजनिक गरिएको ब्याजदर सूचना अनुसार हुने बैंकले जनाएको छ ।

निरन्तर ब्याजदर घटाउँदै एनआईसी एशिया, पुसमा पनि घट्यो, कति छ ?

काठमाडौं । पछिल्लो केही महिनादेखि एनआईसी एशिया बैंकले निरन्तर ब्याजदर घटाउँदै आएको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । यसअघि कात्तिकको तुलनामा बैंकले मंसिरमा पनि ब्याजदर घटाएको थियो । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ । यसअघि मंसिरमा न्यूनतम ४.५८५ प्रतिशतदेखि अधिकतम ६.५८५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । सोही साधारण बचत खातामा बैंकले कात्तिकमा ६.००३ प्रतिशतदेखि ८.००३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ७ प्रतिशतदेखि ८.६७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.९६८ प्रतिशत र ब्यक्तिगततर्फ ८.९६८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा २ प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १३.७० प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधार दर १०.७० प्रतिशत रहेको छ ।

२० लाख कित्ता सेयर बेच्दै हिमालयन एभरेष्ट, किन धमाधम बाहिरिँदै छन् नेपाल रिका संस्थापक ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले रिन्स्योरेन्समा रहेको आफ्नो सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको स्रोतले बताएको छ । स्रोतका अनुसार कम्पनीले २० लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । ‘क्यास फ्लो मिलाउन सेयर बिक्री गर्न लागिएको हो, कम्पनीसँग नेपाल रिइन्स्योरेन्सको ४०/५० लाख कित्ता सेयर छ, एउटै ठाउँमा धेरै सेयर राखेर प्रयोग हुँदैन, त्यसैले लगानी विविधिकरण गर्न खोजेको हो,’ कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले भने, ‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो ।’ उनका अनुसार जुन क्षेत्रबाट लगानीको अवसर आउँछ सोही क्षेत्रमा लगानी गर्ने योजना कम्पनीकाे छ । २० लाख कित्ता सेयर बिक्री गर्न स्वीकृतिका लागि पुनर्बीमा कम्पनीमा पत्र पठाएको कम्पनी सचिव न्यौपानेले बताए । नेपाल रिइन्स्योरेन्स स्रोतका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई सेयर बिक्रीका लागि स्वीकृति दिइसकेको छ । साथै, नेपाल बीमा प्राधिकरणले समेत अनुमति दिएको स्रोतको भनाइ छ । अब कम्पनीले अर्काे साताभित्र उक्त सेयर बिक्रीका लागि सूचना आह्वान गर्नेछ । कम्पनीको बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनका अनुसार साविक हिमालयन जनरलको १८ लाख ८५ हजार १६५ कित्ता र साविक एभरेष्ट इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ । बिहीबार मात्रै रिइन्स्योरेन्सबाट नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले सेयर बिक्री गरेका थिए । नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर र विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, प्रभु इन्स्योरेन्सले पनि १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बोलकबोल मार्फत् बिक्रीमा राखेको छ । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिका लागि सेयर बिक्री गर्न लागेका हुन् । रिइन्स्योरेन्सको सेयर बिक्री गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स चौथों कम्पनी हो ।