कामना सेवा र हातेमालो फाइनान्सबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवा उपलब्ध गराएको कम्पनीले जनाएकाे छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा १३५  शाखा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा र ७७ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि-आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

आत्मनिर्भर लघुवित्तले पहिलोपटक घोषणा गर्याे लाभांश

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पहिलो पटक सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

समता घरेलु लघुवित्तको लाभांश घोषणा, गत वर्षभन्दा घट्यो

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले हालसम्मकै न्यून लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गरेको थियो ।