प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि आगन्तुक रिसोर्टमा छुट अफर

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको छ। आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरूमा १५ प्रतिशत छुट अफर पाउनेछन् । हितग्राही ग्राहकहरूले सम्झौता अवधिदेखि आगामी १ वर्ष अर्थात् २३ मंसिर ०८१ सम्मका लागि रिसोर्टमा यो छुट अफर पाउनेछन् । अफरबाट लाभ लिन रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफ्नो आइडी कार्ड देखाउनुपर्नेछ। धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्युटावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौंबाट झन्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्षअघि मात्र स्थापना भएको यो रिसोट बुटिक स्टाइल चार स्टार डिलक्स रिसोर्टका रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ । हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिइरहेको भ्यालीनजिकैको बस्न खान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्विमिङ पुलसहितको सुविधासम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाइलो गन्तव्य स्थल बनेको छ।

सानिमा रिलायन्सले लाभांश नदिने

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

के हो सर्किट ब्रेक ? यस्तो छ नेप्सेको पछिल्लो व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले बजारको उतारचढावलाई नियन्त्रण गर्नको लागि सर्किट ब्रेक लगाउने व्यवस्था शुरु गरेको हो । उक्त व्यवस्था २०६४ देखि शुरु भएको हो । २०६४ सालदेखि शुरु भएको व्यवस्थामा केही बुँदाहरु परिमार्जित भएका छन् । पछिल्लो समय २०७५ चैत १९ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार नेप्सेमा सर्किट ब्रेक लागिरहेको छ । स्टकको नयाँ व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो एक घण्टामा चार प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्ने भएको छ । यस्तै दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ३० मिनेट तथा तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गर्ने व्यवस्था छ । सोही अनुरुप आज आइतबारको बजारमा दुई पटक सर्किक ब्रेक लागि सकेको छ । पहिलो पटक कारोबार शुरु भएको केही मिनेटमै ४ प्रतिशतले बढेर र अर्को पटक ५ प्रतिशतले बढेर हाल सेयर कारोबार ४० मिनेटको लागि बन्द भइको छ । अब दुई पटक सर्किट लागेर खुलेपछिको बजार पनि ६ प्रतिशतले घट्यो वा बढ्यो भने आजको पुरै कारोबार स्थगित हुने छ ।