चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । चन्द्रागिरि हिल्सले आगामी पुस २६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १४औं साधारण सभा पुस २६ गते बिहीबार दिउँसो साढे १२ बजे कम्पनीको कार्यालय थानकोट परिसरमा गर्ने निर्णय गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस १३ गते बुक क्लोज हुँदै छ । तर, सभामा कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । अघिल्लो वर्ष पनि लाभांश नदिएको कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने जानकारी गराएको छ ।

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

कुमारी बैंक ल्‍यायो ‘फेस्टिभ अफर’

काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । बैंकका अनुसार पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्युनतम रकम एक हजार रुपैयाँ हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ । डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर छ । आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।