सबैको लघुवित्तले पनि लाभांश नदिने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । पौष १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले आइतबार प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत बताए ।
जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।