मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रभु लाइफ र सूचीकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जभएपछि बनेको प्रभु महालक्ष्मीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सोमबार अर्थात पुस २ गते सूचीकृत भएको हो । यससँगै अब उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । दुई कम्पनी एक बराबर एकको अनुपातमा एक आपसमा मर्ज भएका थिए । मर्जरको प्रकृयामा गएपछि नेप्सेले कम्पनीको सेयर दोश्रो बजारमा रोक्का गरिदिएको थियो ।

लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता भएको छ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा अवस्थित बयोधा अस्पताल सँग विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उत्त सम्झौता अनुसार बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गरिने भएको छ । उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौं स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर अरबिन्द कुमार साहले हस्ताक्षर गरे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो । काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।