चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ५१९.८२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५७१.८० रुपैयाँ थियो । यससँगै अबको बजारमा हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ५१९.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।
नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता
काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच व्यवसायिक सम्झौता भएको छ । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय बिजनेश सोलुशन्सको सेवा लिने छन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ । नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, प्रमुख एसएमई, एमएफ र एसबी अमित श्रेष्ठले भने, ‘नबिल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेकोछ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ।’ उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भनिन्, ‘नबिल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ।’ उनले थपीन्, ‘उपायले कर्जा सम्बन्धी सेवाहरूका साथै वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन सम्बन्धी व्यवसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएकोछ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ।’
आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा थापा र अग्रवाल नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फको सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह तर्फबाट प्रतिनिधित्व गरेको आईएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि रिक्त रहेको स्थानमा थापा र अग्रवाल नियुक्त भएका हुन् । यससँगै उनीहरुले बाँकी कार्यकाल सम्हाल्ने छन् ।