लक्ष्मी सनराइज बैंकले सुरु गर्यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ । नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ । यस सेवा नेप्सले भिसाको सहायक संस्था, साईबरर्सोस संगको सहकार्यमा विकास गरेको हो । बैंकका अनुसार यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । तसर्थ यो सुविधाले निश्चित रूपमा देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकको रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको दुई नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं. २९ मा अनामनगर शाखा संचालनमा ल्याएकोे हो । यी दुई शाखाहरु गरि बैंकको शाखा संख्या २६४ पुगेको छ । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाडै नै अरु थप शाखाहरु खोल्ने समेत उनले जानकारी गराए । हाल बैंकको २६४ शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५५ वटा एटीएम रहेको छ ।

सिटिजन्स बैंकले वितरण गर्यो विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेको हो । उक्त विद्यालयमा अध्यननरत अधिकांश विद्यार्थीहरु दलित जनजाती तथा विपन्न परिवारबाट रहेको र उनीहरुको आर्थिक अवस्था नाजुक भएकाले जाडोमा न्यानो कपडा प्रदान गरिएको बैंकले जनाएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा कक्षा एकदेखि १० सम्मका १९१ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो । साथै, यस बैंकको कालिकानगर शाखा बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको यस सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यबाट न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस सहयोगले चिसो मौसममा विद्यार्थीलाई पठनपाठनमा थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले आगामी दिनमा पनि यस प्रकारको आर्थिक, सांस्कृतिक, सामाजिक तथा शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहने प्रतिवद्धता जनाएको छ ।