यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।
बैंकहरूको नाफा १० प्रतिशत घट्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९.९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआएको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय विवरण नकारात्मक रहेकाले सेयरधनीहरूलाई निराश बनाएको छ । पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने घटेकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको भनाइ छ । साथै, अघिल्ला वर्षहरूमा जथाभाबी लगानी बिस्तार गरेकाले बैंकहरूको खराब कर्जाको अनुपात पनि बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको हुँदा वित्तीय विवरण उत्साहजन नआएको बताउँछन् । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनको भनाइ छ । खराब कर्जा बढेर प्रोभिजनिङ बढेका कारण नाफामा असर गरेको नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले बताए । समीक्षा अवधिमा तीन वटा बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिन्छ । हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् । यस अवधिमा बसैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको ४९.६० प्रतिशत घटेर ५९ करोड रुपैयाँ नाफा गरेको छ भने कृषि विकास बैंकको नाफा धनात्मक छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १.६६ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २.१५ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नबिल बैंकको ६.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.५९ प्रतिशत घटेर ७८ करोड २७ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सानिमा बैंकको ११.४१ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६२ प्रतिशत घटेर १ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकको १४.३१ प्रतिशत घटेर ८६ करोड ७२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २१.४६ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.६८ प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका हुन् । यस्तै, ग्लोबल आइएमई बैंकको २६.५६ प्रतिशत घटेर २ अर्ब ४ करोड रुपैयाँ, एनएमबि बैंकको २७.६२ प्रतिशत घटेर १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २८.६२ प्रतिशत घटेर ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको ३९.९६ प्रतिशत घटेर ७२ करोड ३ लाख रुपैयाँ, नआइसी एशिया बैंकको ४१.८३ प्रतिशत घटेर १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खराब कर्जा (एनपीएल) ०.८८ प्रतिशत बढेर १.६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.७२ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेर ७२ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ३ अर्ब ६६ करोड रुपैयाँ, सञ्चालन नाफा १.५ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ७ प्रतिशत घटेर ९ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप संकलन १.५३ प्रतिशत घटेर १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ र कर्जा प्रवाह ०.२४ प्रतिशत घटेर ७७ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ०.५८ रुपैयाँ घटेर ३६.६२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.३६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०५.५८ रुपैयाँ रहेको छ । बैंकको आधार दर ७.५६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत, कस्ट अफ फण्ड ५.५२ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत छ ।