माछापुच्छ्रे बैंकद्वारा डिल्लीबजार कन्या क्याम्पसलाई चारवटा मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले उक्त प्रोजेक्टर डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ । हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यकासाथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । ज्योति क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा ‘व्यबसायको आरम्भ देखि सम्पन्नता सम्म’ अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारण लाई शेयर जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए वमोजिमका कार्य गर्र्ने सक्ने वनाउन ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बो्केको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा।लि। लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।

पुँजी वृद्धिकै समयमा नेपाल रिबाट बाहिरिँदै आइएमई ग्रुप, अर्ब बढीको सेयर बिक्रीमा

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित विभिन्न चार कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, ग्लोबल आइएमई क्यापिटल, हाथवे इन्भेष्टमेन्ट नेपाल र आइएमई लिमिटेडले आफ्नो स्वामित्वमा रहेको पौने ३६ लाख कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा चारै कम्पनीले १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् । कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले फागुन ८ गतेदेखि फागुन १२ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नेपाल रिमा भएको आफ्नो कूल स्वामित्वको केही प्रतिशत सेयर बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको इन्स्योरेन्स स्रोतले बताएको छ । एउटै कम्पनीमा धेरै सेयर स्वामित्व भएपछि लगानी विविधिकरण गर्न खोजेको कम्पनीको भनाइ छ । ‘अन्य कुन क्षेत्रमा लगानी गर्ने भनेर एकिन निर्णय भएको छैन तर लगानी एउटै ठाउँमा धेरै भएकाले त्यो बेचेर अन्य क्षेत्रमा लगानी गर्न खोजिएको हो,’ स्रोतले भन्यो । साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएपछि नेपाल रिमा कम्पनीको सेयर स्वामित्व बढ्न पुगेको हो । नेपाल रिइन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार साविक आइएमई जनरलको १८ लाख ८५ हजार १६५ र साविक प्रुडेन्सियल इन्स्योरेन्सको १८ लाख ८५ हजार १६५ कित्ता सेयर गरी कूल ३७ लाख ७० हजार ३३१ कित्ता सेयर स्वामित्व छ । यस्तै, आइएमई लिमिटेडको १४ लाख ९ हजार ११ कित्ता सेयर स्वामित्व थियो । रिइन्स्योरेन्सले बोनस सेयर वितरण गरेको हुँदा उक्त सेयर संख्या वृद्धि भएको हुन सक्छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धिको लागि निर्देशन दिएको छ । यही समयमा आइएमई ग्रुप लगायत सेयरधनी नेपाल रिबाट बाहिरिरहेका छन् ।