हिमालयन रिइन्स्योरेन्सको छलाङ, नाफा १ सय प्रतिशत र बीमा शुल्क १५४.६५ प्रतिशत बढायो
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १ सय प्रतिशत बढेर ६० करोड २७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड १७ लाख रुपैयाँ खद नाफा गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क १५४.६५ प्रतिशत बढेर १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको कुल दाबी भुक्तानी ५०.९० प्रतिशत बढेर ७३ लाख १५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४८ लाख ४८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी ९२.८४ प्रतिशत बढेर २ अर्ब ४६ करोड रुपैयाँ गरेको छ भने कुल खर्च ८९.३५ प्रतिशत बढेर १ अर्ब ६० करोड रुपैयाँ गरेको छ । कम्पनीको चुक्ता पुँजी ४२.८६ प्रतिशत बढेर १० अर्ब रुपैयाँ, सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६९ करोड २८ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.८२ रुपैयाँ बढेर १२.५ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.३० रुपैयाँ रहेको छ ।
हिमालयन रिले इन्साइडर ट्रेडिङ गरेको आशंका, कानुन विपरित काम गरेको भन्दै कारबाहीको तयारी
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको आशंका नेपाल बीमा प्राधिकरणले गरेको छ । कम्पनीले प्राधिकरणको अनुमति बिना पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि इन्साइडर ट्रेडिङ गरेको आशंका प्राधिकरणले गरेको हो । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्राधिकरणको अनुमति बिना नै हकप्रदको एजेण्डा राखेपछि प्राधिकरण कम्पनीप्रति असन्तुष्ट बन्दै कानुनी कारबाही गर्ने तयारीमा जुटेको हो । प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछाने प्राधिकरणको स्वीकृति बिना हकप्रद सेयर जारी गर्छु भनेर डिस्क्लोज गर्न नमिल्ने बताउँछन् । ‘नियामकको अनुमति बिना यसरी डिस्क्लोज गर्नु इन्साइडर ट्रेडिङ हो, कम्पनीले आफूखुसी निर्णय पाउँदैन, योभन्दा अगाडि के कस्ता अभ्यास भएका छन् बुझेर थप निर्णय गर्छाैं,’ उनले भने । प्राधिकरणले गत माघ १७ गते नेपाल रि र हिमालयन रिइन्स्योरेन्सलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन भनेको थियो । साथै, पुँजी वृद्धिको योजना पेस गर्न दुईटै कम्पनीलाई प्राधिकरणले १५ दिनको समय तोकेको थियो । तर, हिमालयन रिइन्स्योरेन्सले प्राधिकरणमा योजना पेस नगरी हकप्रद सेयर जारी गर्ने एजेण्डा राखेपछि प्राधिकरण कम्पनीप्रति कार्यशैलीप्रति असन्तुष्ट बनेको हो । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले १०ः८ अर्थात् १० सेयर बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल प्राधिकरणमा योजना पेस नगरी आफूखुसी निर्णय गर्न नमिल्ने बताउँछन् । एकैपटक ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न दिने वा नदिने भन्ने प्राधिकरणको अनुमति नलिई सूचना जारी गर्ने विषयमा प्राधिकरणमा छलफल भइरहेको उनको भनाइ छ । ‘पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनको समय दिइएको हो, समय बाँकी नै छ । तर, हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने निर्णय सञ्चारमाध्यमबाट थाहा पायौं,’ उनले भने, ‘कम्पनीले अहिलेसम्म पुँजी वृद्धिको योजना प्राधिकरणमा पेस गरेको छैन, एकैचोटी ८० प्रतिशत हकप्रद जारी गर्ने भनेपछि अफ्ठ्यारो भयो ।’ यस विषयमा कम्पनीले पनि कुनै पनि धारणा दिएको छैन । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको छ ।
हिमालयन रिले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन सर्कुलर जारी गरेको थियो । पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनभित्र योजना पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो । सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने योजना बनाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको छ । कम्पनीले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते राष्ट्रिय सभा गृह काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट रिक्त पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।