प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र साविक प्रभु लाइफ इन्स्योरेन्सको सीईओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सीईओका रुपमा कार्य गर्दै गर्दा साविकको महालक्ष्मी लाईफसँग मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरको छ । बैंकका अनुसार ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १ प्रतिशत बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ । घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
पौने १ अर्बको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष (सीआईटी)मा रहेको सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दुईटै कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो । कम्पनीले नेपाल पुनर्बीमाको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार नेपाल पुनर्बीमाको सेयर मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ भने सीआईटीको प्रतिकित्ता ७८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीले पुनर्बीमाको ५८ करोड ५ लाख ६४ हजार ८८० रुपैयाँ र सीआईटीको १८ करोड ६४ लाख ४८ हजार ८६० रुपैयाँ गरी कूल ७६ करोड ७० लाख १३ हजार ७४० रुपैयाँ उठाउने छ । कम्पनीको उक्त सेयरमा इच्छुक लगानीकर्ताहरूले आज फागुन १८ गतेदेखि फागुन २२ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिँदा पुनर्बीमाको सम्पूर्ण कित्ता र सीआईटीको न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीलाई विविधिकरण र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने योजनासहित सेयर बिक्रीमा राखेको कम्पनीले जनाएको छ । कम्पनीले सेयर बिक्री गरेर उठेको रकम अन्य क्षेत्रमा लगानी गर्ने योजना बनाएको कम्पनीको भनाइ छ । नेपाल बीमा प्राधिकरणले तोकबमोजिम कम्पनीले पुँजी पुर्याइसकेको छ । त्यसैले उक्त सेयर बिक्री गरेर प्राप्त रकमबाट सेयरधनीहरूलाई लाभांश बाँड्न पनि सक्नेछ । कम्पनीले घरजग्गामा लगानी गर्न चाहेको पनि देखिएको छ । कम्पनीले गत कात्तिक २० गते विराटनगर महानगरपालिका, वीरगंज महानगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका र नेपालगन्ज उपमहानगरपालि क्षेत्रभित्र घरजग्गा खरिदका लागि सूचना जारी गरेको थियो ।