सम्पति शुद्धिकरणमा सहकारीको सक्रियता बढ्दै, ८७७ संस्था गोएमएलमा आवद्ध

भक्तपुर । सम्पति शुद्धिकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धिकरण निवारणका लागि कानुनी प्रावधान कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन् । बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति’ विषयमा कार्यपत्र पेश गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले विगतमा सहकारीबाट सम्पति शुद्धिकरण हुन्छ भन्ने आम बुझाई रहेपनि त्यसमा विस्तारै परिवर्तन हुन थालेको बताए । सम्पति शुद्धिकरण ऐन तथा नियमावली र सहकारी विभागद्धारा जारी निर्देशन पालन गर्नेतर्फ संस्थाहरुको सक्रियता बढिरहेको उनले उल्लेख गरे । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ८७७ वटा संस्थाहरु गोएमएल प्रणालीमा आवद्ध भई रिपोर्टिङ गरिरहेको सापकोटाले जानकारी दिए । यस्तै, गत आर्थिक वर्षमा सहकारी संस्थाहरुले २ लाख २१ हजार वटा सीमा र एक वटा शंकास्पद कारोबारको रिपोर्टिङ गरेको समेत उनले बताए । विश्वमा आंतककारी गतिविधिमा वित्तीय लगानी रोक्नका लागि सम्पति शुद्धिकरण निवारणको विषय आएको र नेपालले पनि यसमा प्रतिवद्धता जनाएकाले सूचक संस्थाको रुपमा कार्यान्वयन गर्ने सहकारीहरुको पनि कर्तव्य रहेको सापकोटाले बताए । अहिले देशको सम्पति शुद्धिकरण निवारण पालनाको अवस्थाबारे रिभ्यु हुँदै गरेको जानकारी दिँदै उनले देश कालोसूचीमा परे वित्तीय क्षेत्रलाई नै अप्ठेरो पर्ने बताए । त्यो अवस्था नआउनका लागि सहकारीकर्मी पनि जिम्मेवार बन्नुपर्ने उनले आवश्यकता औंल्याए । सहकारी विभागले जारी गरेको सम्पति शुद्धिकरण निवारण सम्बन्धी निर्देशन २०७४ को प्रावधान अनुसार सहकारीहरुले सम्पति शुद्धिकरण निवारण सम्बन्धी रिपोर्टिङ गर्न फोकल पर्सन तोक्नुपर्ने, सदस्यहरुको पहिचाहन गरी जोखिमका आधारमा वर्गीकरण गर्नुपर्ने, १० लाखभन्दा बढी सेयर खरिद, बचत जम्मा तथा ऋणको किस्ता तथा ब्याज भुक्तानी तथा रेमिट्यान्स कारोबारमा स्रोत खुलासा लिएर वित्तीय जानकारी पठाउनुपर्ने प्रावधान छ । यसैगरी जतिसुकै रकम कारोबार भएपनि शंकास्पद लागेमा रिपोर्टिङ गर्नुपर्छ । संस्थाहरुले सीमा कारोबारको १५ दिनभित्र र शंकास्पद कारोबारको तीन दिनभित्र रिपोर्टिङ गर्नुपर्ने प्रावधान छ । ऐन तथा निर्देशन अनुसार काम नगर्ने संस्थाहरुलाई लिखित सचेत गराउनेदेखि ५ करोडसम्म जरिवाना गर्ने प्रावधान छ । कार्यक्रममा टिप्पणी गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दाहाल सहकारी बिग्रीए, सकिए भनेर प्रचार भएपनि अझै आशाको किरणहरु बाँकी रहेको बताए । सहकारीको नियमन कमजोर रहेकाले समस्या देखिएको उनले उल्लेख गरे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी मदनजीत महराले कमजोर अनुगमनका कारण सहकारी क्षेत्र समस्यामा परेको बताए । बरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सहकारी संस्थाहरुमा अझै सदस्यको विवरण पर्याप्त नभएको र रिपोर्टिङ कल्चर बढ्न नसकेको उल्लेख गरे । डिजिटल ऐज नेपालकी महाप्रबन्धक दिब्येश्वरी दली सम्पति शुद्धिकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नका लागि सहकारीहरुलाई प्राविधिक सहयोग गरिरहेको जानकारी दिइन् ।

सर्वोत्तमको आईपीओ : १० लाख बढीले भरे, १९ अर्ब ३५ करोडको आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्रीको अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका हुन् । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)का अनुसार फागुन १६ गते साँझ ५ बजेसम्ममा उक्त आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको लागि आवेदन दिएका हुन् । उनीहरुबाट १९ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित सो मात्राको सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर किन्नको लागि लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्ने व्यवस्था थियो । र, उक्त सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाएका थिए ।

सिटिजन्स बैंकले सुरु गर्यो क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा, भारतीय एपबाट भुक्तानी गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले क्रसबोर्डर व्यवसायिक भुक्तानी सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने उद्धेष्यले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने भएको छ । हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यूआरमार्फत गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जानकारी दिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।