शोधनान्तर स्थिति ३ खर्बले बचत, प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड
काठमाडौं । ७ महिनाको अवधिमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने
काठमाडौं । धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भएको छ । फागुन २६ शनिबार देखि सुरु हुने बुढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो । चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधि भर आइएमई पे बाट टिकट काट्न मिल्ने छ । यस पटकको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन् ।
ग्लोबल आइएमई बैंकद्वारा २०८१ सालको क्यालेण्डर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । आईतबार काठमाडौंमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेका हुन् । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेण्डर सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’ उनले नयाँ वर्ष २०८१ सालको सु–अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष÷अप्रत्यक्षरुपमा जोडिनुभएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरे । उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।